बाँदर र बँदेल आतंकले गुल्मीका किसान निराश : वर्षौंको मिहिनेत एकै रातमा सखाप
गुल्मी । खेतबारीमा पसिना बगाएर उत्पादन गरेको बाली भित्र्याउने बेलामा बाँदर र बँदेलले सखाप पार्न थालेपछि गुल्मीका किसानहरू गहिरो पीडामा परेका छन्। मकै पाक्ने समयमै वन्यजन्तुको आक्रमण बढेपछि किसानको वर्षौंको श्रम, लगानी र आशा एकै रातमा उजाडिने अवस्था बनेको छ।
रेसुङ्गा नगरपालिका–६ सिमाघाटका किसान प्रेम नेपाली त्यसका एक प्रतिनिधि पात्र हुन्। सयौं रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका उनले बेमौसमी मकै उत्पादन गरी बजारमा लैजाने तयारी गरेका थिए। तर, सोमबार बिहान खेतमा पुग्दा बँदेलले अधिकांश मकै नष्ट गरिसकेको दृश्य देखेपछि उनी भावुक बने।
बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेका नेपालीले मिहिनेत र लगानी सबै बर्बाद भएको गुनासो गर्दै जग्गाधनीलाई समेत अब भाडा माग्न नआउन आग्रह गरे। उनको पीडाले कृषि पेशामा भविष्य खोजिरहेका ग्रामीण किसानको असहाय अवस्था उजागर गरेको छ।
इस्मा गाउँपालिका–१ का किसान बाबुराम पन्थीको पीडा पनि उस्तै छ। करिब दुई महिनासम्म आफू र श्रीमती जमुना पन्थीले मल बोकेर हुर्काएको मकै एकै दिन बाँदरको हुलले नष्ट गरेपछि उनी पनि भावुक बने। शिक्षक पेशामा रहे पनि खाली समयमा कृषि र पशुपालन गर्दै आएका पन्थीले परिवारको श्रम र आशा एकैछिनमा समाप्त भएको बताए।
गुल्मीका किसानहरूका अनुसार पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको समस्या नियन्त्रणबाहिर पुगेको छ। मकै, आलु, तरकारी तथा फलफूलजस्ता बाली पाक्ने समयमै वन्यजन्तुको आक्रमण हुने गरेको छ। बाली जोगाउन किसानले रातभर खेतमा बस्ने, ड्रम बजाउने, कुकुर पाल्ने लगायतका उपाय अपनाए पनि प्रभावकारी हुन सकेका छैनन्।
बढ्दो वन्यजन्तु आतंकका कारण धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केही परिवार गाउँ छाड्न बाध्य भएका छन्। कृषि उत्पादन वृद्धि र गाउँमै रोजगारी सिर्जना गर्ने सरकारी नीति भए पनि किसानले आफ्नो उत्पादन सुरक्षित गर्न नसकेको गुनासो गरेका छन्।
स्थानीयवासीले वन्यजन्तुबाट हुने क्षतिको उचित क्षतिपूर्ति, प्रभावकारी नियन्त्रण योजना तथा दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूका अनुसार किसानको श्रम सुरक्षित गर्न नसकिए ग्रामीण कृषि प्रणाली थप संकटमा पर्ने र गाउँका उर्वर जमिन क्रमशः बाँझिने खतरा बढ्दै जानेछ।
