साइलेज उद्योगदेखि दैनिक ४० हजार लिटर दूध कारोबारसम्मको लक्ष्य, कामधेनुको पाँचवर्षे योजना
एलएन गच्छदार | जनचर्चा टाइम्स अनलाइन
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले कृषि तथा दुग्ध क्षेत्रको विकास, किसानको समृद्धि र उत्पादन वृद्धि गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक योजना अघि सारेको छ। दसैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहकारीले साइलेज तथा दाना उद्योग स्थापना, दूध सङ्कलन केन्द्र विस्तार र बजार प्रवर्द्धनका योजनाबारे जानकारी गराउँदै साइलेज उत्पादनका लागि कोशी प्रदेश सरकारसँग सहजीकरणको आग्रह गरेको छ।
सहकारीले दसैँको अवसरमा सञ्चालक समिति तथा कर्मचारीबीच टीका–जमरा लगाएर शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न जिल्लाका १९ पालिकामा कार्यक्षेत्र रहेका पशु तथा भेटेरिनरी प्राविधिकलाई नियुक्तिपत्रसमेत वितरण गरेको छ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोको उपस्थिति रहेको थियो। सोही अवसरमा सहकारीले कृषि तथा दुग्ध क्षेत्रको विकाससम्बन्धी आफ्नो योजना र साइलेज उत्पादन तथा भण्डारण उद्योग स्थापनासम्बन्धी प्रतिवेदन मन्त्रीसमक्ष पेस गरेको हो।
साइलेज उत्पादन र दाना उद्योग स्थापना गर्ने योजना
पशुपालनमा बढ्दो लागत, दानाको अभाव र मूल्यवृद्धिका कारण किसानले भोग्दै आएका समस्यालाई सम्बोधन गर्न कामधेनुले साइलेज उत्पादन तथा भण्डारण र दाना उद्योग स्थापना गर्ने योजना अघि सारेको छ।
गुणस्तरीय पशु आहारको सहज उपलब्धताले दूध उत्पादन बढाउन र किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने सहकारीको अपेक्षा छ। त्यसका लागि साइलेज उद्योग स्थापना गर्न प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गरिदिन सहकारीले आग्रह गरेको छ।
सहकारीका अध्यक्ष यादव ढकालले किसानको समृद्धि र दुग्ध क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर संस्था अघि बढिरहेको बताए। पशुपालनमा दाना तथा घाँसको लागत बढ्दा किसानलाई समस्या पर्ने गरेको उल्लेख गर्दै उनले साइलेज उत्पादन र भण्डारणको व्यवस्था गर्न सके पशु आहारको उपलब्धता सहज हुने र दूध उत्पादन बढाउन सहयोग पुग्ने धारणा राखे।
ढकालले साइलेज तथा दाना उद्योग स्थापना गर्ने योजनालाई कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहजीकरणको आग्रह गरिएको जानकारी दिए। किसानलाई आवश्यक पशु आहार, प्राविधिक सेवा र बजारको सुनिश्चितता गर्न सके दुग्ध उत्पादन क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने उनको भनाइ छ।
पाँच वर्षमा पाँच हजार नयाँ सेयर सदस्य थप्ने लक्ष्य
कामधेनुले आगामी पाँच वर्षमा कम्तीमा पाँच हजार नयाँ सेयर सदस्य थप्ने लक्ष्य राखेको छ। किसानलाई गुणस्तरीय घाँस तथा दाना उपलब्ध गराउन साइलेज र दाना उद्योग स्थापना गर्ने योजना पनि रणनीतिक योजनामा समेटिएको छ।
त्यसैगरी, दैनिक ५० लिटरभन्दा बढी दूध उत्पादन गर्ने किसान सेयर सदस्यलाई लक्षित गरी पशु स्वास्थ्य उपचारसम्बन्धी भेटेरिनरी सेवा तथा तालिम उपलब्ध गराउने योजना संस्थाले बनाएको छ।
किसानबाट दूध सङ्कलनलाई व्यवस्थित गर्न आगामी पाँच वर्षभित्र २० स्थानमा दूध सङ्कलन केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक सहकारी संस्थासँग एकीकरण गर्ने, सदस्यको सुविधाका लागि मार्ट सञ्चालन गर्ने तथा उपलब्ध भौतिक संरचना र बजारको उपयोग गर्दै पानी उद्योग सञ्चालन गर्ने योजना पनि संस्थाले अघि सारेको छ।
दैनिक ४० हजार लिटर दूध कारोबार पुर्याउने लक्ष्य
सुनसरी, मोरङ र झापा जिल्लामा बजार विस्तार गरिरहेको कामधेनुले आगामी दिनमा उत्पादनको गुणस्तर सुधार, उत्पादन विविधीकरण र बजारीकरण प्रणालीलाई थप व्यवस्थित बनाउने योजना बनाएको छ।
कारखानामा आवश्यक मिल तथा मेसिनरी थप्ने, कर्मचारीलाई तालिम तथा प्रशिक्षण दिने, बिक्री प्रणाली सुधार गर्ने र उत्पादनको बजार विस्तार गर्ने योजना रणनीतिक योजनामा समेटिएको छ।
त्यसैगरी, ठूला सहरमा ‘मिल्क एटीएम’ स्थापना गरी उपभोक्तालाई सहज रूपमा दूध उपलब्ध गराउने र घरघरमा कामधेनुको सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
संस्थाले आगामी पाँच वर्षभित्र दैनिक ४० हजार लिटर दूधको कारोबार पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। योजनाको प्रभावकारी कार्यान्वयनले दुग्ध उत्पादन वृद्धि, बजार विस्तार र किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुभकामना आदानप्रदानसँगै पशु प्राविधिकलाई नियुक्तिपत्र
दसैँको अवसरमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक समिति र कर्मचारीबीच आपसी सद्भाव, एकता तथा सहकार्यको सन्देशसहित शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहकारीका लेखा संयोजक देवीप्रसाद भट्टराईले दसैँले सहकारी परिवारबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले संस्थाको उद्देश्य प्राप्तिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष ढकालले यसअघि गरेको प्रतिबद्धताअनुसार मन्त्री महतोको हातबाट विभिन्न जिल्लाका १९ पालिकामा कार्यक्षेत्र रहेका पशु तथा भेटेरिनरी प्राविधिकलाई नियुक्तिपत्र वितरण गरिएको बताए। दक्ष जनशक्तिको परिचालनबाट पशुपालक किसानलाई पशु स्वास्थ्य सेवा, उपचार तथा प्राविधिक परामर्श उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास छ।
कामधेनुका कार्यालय प्रमुख नवराज नेपालले संस्थाले आफ्ना नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै कृषि क्रान्तिको अभियानमा योगदान पुर्याइरहेको बताए। उनले दुग्ध उत्पादनको लागत घटाउन र किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले आवश्यक नीति, कार्यक्रम तथा सहजीकरणमा ध्यान दिनुपर्ने धारणा राखे।
किसानको हितमा काम गर्ने सहकारीलाई प्रदेश सरकारले साथ दिने मन्त्रीको भनाइ
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले किसानको हितका लागि कामधेनु सहकारीले पुर्याउँदै आएको योगदानप्रति धन्यवाद व्यक्त गरे। किसानका पक्षमा सहकारीले काम गरिरहेको उल्लेख गर्दै उनले संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे।
मन्त्री महतोले सहकारीको कारोबार तथा गतिविधिमा अनियमितता हुन नदिन र संस्थालाई पारदर्शी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए। राम्रो काम गर्ने सहकारीलाई मन्त्रालयले साथ दिने उल्लेख गर्दै उनले कृषि तथा दुग्ध क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे।
उनले जनताको काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई आग्रह गर्दै सुशासन प्रवर्द्धनका लागि आफ्नै व्यवहार सुधारबाट सुरुवात गर्नुपर्ने बताए। सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै किसान तथा सेवाग्राहीका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा मन्त्री महतोले सहकारीका अध्यक्ष यादव ढकालसहित सञ्चालक समिति तथा कर्मचारीलाई टीका–जमरा लगाएर दसैँको शुभकामना दिएका थिए। त्यसैगरी अध्यक्ष ढकालले पनि सञ्चालक समिति र कर्मचारीलाई टीका–जमरा लगाइदिँदै शुभकामना आदानप्रदान गरेका थिए।
जनचर्चा टाइम्स अनलाइन
