सुन्दरहरैंचामा १२ घण्टा लामो ‘प्याब्सन डिजिटल क्विज’ सम्पन्न, सगरमाथा हिमाल दर्शन प्रथम

एलएन गच्छदार ,  सुन्दरहरैंचा ।

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालयको सहभागिता रहेको डिजिटल क्विजमा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम, ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो र बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएका छन्।

जेसीज भवन, विराटचोकमा सम्पन्न प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। ज्ञान, तर्क, प्रविधि, सिर्जनशीलता र विद्यार्थीको तत्काल निर्णय क्षमतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको डिजिटल क्विजले सुन्दरहरैंचा प्याब्सनको इतिहासमै नयाँ पहिचान स्थापित गरेको आयोजकको भनाइ छ।

प्रतियोगितामा सामान्य प्रश्नोत्तरभन्दा फरक डिजिटल प्रविधिमा आधारित विविध राउण्डहरू समावेश गरिएको थियो। र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान तथा आइक्यूलगायतका राउण्डले प्रतियोगितालाई थप रोचक बनाएका थिए।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ ले विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी लिन प्रेरित गरेको थियो। उक्त राउण्डमा सहभागी विद्यार्थीहरूले नगरसँग सम्बन्धित प्रश्नको उत्साहपूर्वक सामना गरेका थिए। यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो, आफ्नो नगरप्रतिको अपनत्व र समसामयिक विषयबारे जानकारी बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण र बाल सदन एकेडेमी बराबरीमा पुगेपछि पुनः दुवै टोलीलाई निर्णायक प्रश्नहरू सोधिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गर्न सफल भयो भने बाल सदन एकेडेमीले सान्त्वना स्थानमा चित्त बुझायो।

प्रतियोगिताको उद्घाटनदेखि अन्तिम चरणसम्म डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको थियो। विद्यार्थीहरूले विभिन्न राउण्डमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीमार्फत प्रश्नको सामना गरेका थिए। यसले परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक अनुभव दिएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले डिजिटल प्रविधिलाई शिक्षासँग जोड्दै विद्यार्थीको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार सुन्दरहरैंचा प्याब्सनको इतिहासमै पहिलोपटक यति लामो समयसम्म निरन्तर डिजिटल माध्यममा आधारित नगरस्तरीय क्विज सञ्चालन गरिएको हो।

“विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र प्रस्तुत हुने क्षमताको विकास गराउनु हाम्रो उद्देश्य हो,” अध्यक्ष क्षेत्रीले भने, “पहिलो संस्करणमै २३ विद्यालयको सहभागिता र विद्यार्थीको उत्साहले आगामी दिनमा यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रेरणा दिएको छ।”

प्याब्सन सुन्दरहरैंचाका नगर सचिव सूर्य दंगालले डिजिटल क्विजले विद्यार्थीलाई नयाँ शैलीमा सिक्ने र प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको बताए। उनका अनुसार प्रतियोगितामा समावेश गरिएका अडियो–भिजुअल, र्‍यापिड फायर, आइक्यू, धर्म–संस्कृति, खेलकुद तथा स्थानीय विषयका राउण्डले विद्यार्थीको बहुआयामिक ज्ञान परीक्षण गरेको थियो।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्याब्सन मोरङ अध्यक्ष जगत बस्नेत र सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। विद्यार्थीको ज्ञान परीक्षणसँगै स्थानीय पहिचान, प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने आधारसमेत तयार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *