सुन्दरहरैंचामा डिजिटल क्विजको नयाँ अध्याय : २३ विद्यालय एउटै मञ्चमा, स्थानीय सरकार र प्रविधिसँग जोडिँदै विद्यार्थी
सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो
एलएन गच्छदार / सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा पछिल्लो समय शैक्षिक गतिविधि र नयाँ प्रविधिको प्रयोगमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ। यही पहिचानलाई थप बलियो बनाउने गरी निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाले पहिलोपटक आयोजना गरेको **‘प्याब्सन डिजिटल क्विज–२०८३’**ले शिक्षा, प्रविधि र स्थानीय पहिचानलाई एउटै मञ्चमा जोडेको छ।
जेसीज भवन विराटचोकमा सम्पन्न प्रतियोगितामा नगरका २३ विद्यालय सहभागी भएका थिए। करिब १२ घण्टासम्म निरन्तर सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीले सामान्य ज्ञानमा मात्र होइन, तत्काल निर्णय, तार्किक क्षमता, स्मरणशक्ति, प्रविधिको प्रयोग र स्थानीय विषयवस्तुमा समेत आफ्नो क्षमता प्रस्तुत गरे।
डिजिटल माध्यमबाट प्रश्न प्रस्तुत गरिएको प्रतियोगितामा र्यापिड फायर, अडियो–भिजुअल, आइक्यू, खेलकुद, धर्म–संस्कृति, विविध ज्ञानसँगै विशेष आकर्षणका रूपमा ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ समावेश गरिएको थियो।
स्थानीय सरकार राउण्डले जोड्यो विद्यार्थीलाई आफ्नै नगरसँग
प्रतियोगिताको ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’लाई विद्यार्थी र दर्शकले विशेष चासोका साथ लिएका थिए। नगरको भूगोल, इतिहास, विकास, स्थानीय शासन, संस्कृति तथा समसामयिक गतिविधिसँग सम्बन्धित प्रश्नले विद्यार्थीलाई आफू बसिरहेको स्थानीय तहबारे थप जान्ने अवसर दिएको थियो।
क्विजको यो राउण्डले ‘आफ्नो नगरलाई चिनौं, आफ्नो स्थानीय सरकार बुझौं’ भन्ने भावनालाई विद्यार्थीमाझ जोडेको थियो। प्रविधिको माध्यमबाट स्थानीय विषयलाई ज्ञानको प्रतिस्पर्धासँग जोडिनुले डिजिटल क्विजलाई सामान्य हाजिरीजवाफभन्दा फरक बनाएको आयोजकको भनाइ छ।
सगरमाथा हिमाल दर्शन विजेता
प्रतिस्पर्धात्मक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछीले १३५ अंकसहित प्रथम स्थान हासिल गरेको छ। ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँले १३० अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ।
प्रभात किरण , सलकपुर र बाल सदन एकेडेमी, विराटचोकले समान ९५ अंक प्राप्त गरेपछि निर्णायक चरणमा अतिरिक्त प्रश्नोत्तर गराइएको थियो। अतिरिक्त चरणमा अग्रता लिँदै प्रभात किरण तेस्रो भयो भने बाल सदनले सान्त्वना स्थान प्राप्त गरेको छ।
त्यस्तै सफल सिद्धार्थ एकेडेमी ८५ अंकसहित पाँचौँ तथा टेन्डर फिट्स र हरैंचा मोडल स्कुल समान ८० अंकसहित छैटौँ भएका छन्।
शिक्षा र प्रविधिलाई जोड्ने प्रयास
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई परम्परागत सिकाइसँगै प्रविधिसँग जोड्ने उद्देश्यले डिजिटल क्विज आयोजना गरिएको बताए। पहिलो संस्करणमै २३ विद्यालयको सहभागिताले कार्यक्रमप्रति विद्यालय र विद्यार्थीको उत्साह देखाएको उल्लेख गर्दै उनले आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनाउँदै लैजाने बताए।
प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले सुन्दरहरैंचामा विद्यालयहरूबीचको सहकार्य र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई एउटै मञ्चमा ल्याउने यस्ता कार्यक्रमले शैक्षिक वातावरणलाई थप गतिशील बनाउने बताए। उनका अनुसार अहिलेको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई प्रविधि, व्यवहारिक ज्ञान, प्रतिस्पर्धा र स्थानीय परिवेशसँग जोडिनुपर्ने आवश्यकता छ।
मोरङ जिल्ला प्याब्सनका सचिव देवी सिटौलाले डिजिटल प्रविधिको प्रयोगमार्फत आयोजना गरिएको क्विजले विद्यार्थीमा सिकाइको नयाँ शैली विकास गर्ने बताए। उनले स्थानीय सरकार, संस्कृति, खेलकुद र समसामयिक विषयलाई समेत प्रश्नको हिस्सा बनाइनुले विद्यार्थीलाई आफ्नो समुदाय र स्थानीय परिवेश बुझ्न थप प्रेरित गरेको बताए।
‘शिक्षाको हब’ बन्दै सुन्दरहरैंचा
सुन्दरहरैंचामा पछिल्लो समय विद्यालयस्तरीय क्विज, विज्ञान प्रदर्शनी, खेलकुद, सिर्जनात्मक तथा प्रविधिमैत्री गतिविधि निरन्तर बढिरहेका छन्। विभिन्न विद्यालयबीचको शैक्षिक प्रतिस्पर्धा र सहकार्यले नगरलाई पूर्वी मोरङको शैक्षिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ।
त्यसमाथि २३ विद्यालयलाई एउटै डिजिटल मञ्चमा जोडेर १२ घण्टासम्म सञ्चालन गरिएको यो प्रतियोगिताले ‘शिक्षाको हब सुन्दरहरैंचा’ भन्ने पहिचानलाई थप बलियो बनाएको आयोजकको विश्वास छ।
‘प्याब्सन डिजिटल क्विज–२०८३’ केवल एउटा विद्यालयस्तरीय प्रतियोगिता मात्र नभई शिक्षा, प्रविधि, स्थानीय पहिचान र प्रतिस्पर्धात्मक सिकाइलाई एउटै सूत्रमा जोड्ने नयाँ अभ्यासका रूपमा देखिएको छ। विशेषगरी स्थानीय सरकारसम्बन्धी राउण्डले विद्यार्थीलाई आफ्नै नगरको इतिहास, विकास र शासन प्रणालीसँग जोड्दै डिजिटल पुस्तालाई आफ्नो स्थानीय तहसँग परिचित गराउने नवीन अभ्यासको सुरुआत गरेको छ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।




