सुन्दरहरैँचा फुड फेस्टिबल आगामी दिनमा देशकै नमुना बनाउने लक्ष्य सहित समपन्न

एलएन गच्छदार

विराटचोक, मोरङ । स्थानीय उत्पादन, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘सुन्दरहरैँचा फुड फेस्टिबल–२०८३’ विभिन्न उतारचढाव र अवरोधबीच सम्पन्न भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको महोत्सव बीचमै रोकिएपछि पुनः सञ्चालन गरिएको थियो। आयोजकले आगामी दिनमा महोत्सवलाई थप व्यवस्थित बनाउँदै देशकै नमुना कार्यक्रमका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महोत्सवको समापनका अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा उद्योगी भोलेश्वर दुलालले स्थानीय उत्पादन, व्यवसाय र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर फेस्टिबललाई निरन्तरता दिने बताए। उनले आगामी दिनमा सुन्दरहरैँचाको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने गरी महोत्सवलाई विकास गर्नुपर्नेमा जोड दिए।

महोत्सव सञ्चालनका क्रममा केही व्यक्तिबाट आएका गुनासोका कारण स्थानीय व्यवसायीमा असुविधा पर्न गएको उल्लेख गर्दै दुलालले त्यसप्रति क्षमा मागे। आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक समन्वय र व्यवस्थापनमा ध्यान दिँदै महोत्सवलाई निरन्तरता दिने उनको भनाइ थियो।

स्थानीय उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने, उत्पादनको बजारीकरण गर्ने र सुन्दरहरैँचाको आर्थिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो। तर, सञ्चालनका क्रममा उत्पन्न विवाद र प्रशासनिक हस्तक्षेपले कार्यक्रम प्रभावित बनेको थियो।

प्रशासनिक हस्तक्षेपपछि पुनः सञ्चालन

असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको सुन्दरहरैँचा फुड फेस्टिबल आवश्यक समन्वय तथा व्यवस्थापनसम्बन्धी विषय उठेपछि बीचमै स्थगित भएको थियो। महोत्सव सञ्चालनका क्रममा केही व्यक्तिका गुनासोपछि प्रशासनिक हस्तक्षेप भएको र कार्यक्रम रोकिएको विषयले स्थानीय व्यवसायी तथा आयोजकबीच चासो बढाएको थियो।

पछि आवश्यक प्रक्रिया अघि बढेपछि महोत्सव कात्तिक ६ गतेदेखि पुनः सञ्चालन गरिएको थियो। बीचमा कार्यक्रम रोकिँदा व्यवसायीले व्यावसायिक अवसर गुमाउनुपरेको तथा आयोजकले समेत व्यवस्थापकीय चुनौती सामना गर्नुपरेको थियो।

महोत्सवका क्रममा देखिएका समस्याले यस्ता सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा आयोजक, स्थानीय व्यवसायी, प्रशासन र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको देखाएको छ। स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिने कार्यक्रम विवाद र अवरोधबाट प्रभावित हुन नदिन पूर्वतयारी तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने देखिन्छ।

अध्यक्ष कार्कीको नेतृत्वमा निरन्तरताको अपेक्षा

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीको नेतृत्वमा आगामी दिनमा महोत्सवलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ। स्थानीय उद्योग, व्यापार, कृषि उत्पादन तथा पर्यटनलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके नगरको आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरलाई लक्षित गरी आयोजना गरिएको महोत्सवले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर दिएको थियो। विभिन्न खानाका परिकार, व्यापारिक सामग्री र मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई आकर्षक बनाउने प्रयास गरिएको थियो।

अबको चुनौती महोत्सव आयोजना गर्नु मात्र नभई त्यसलाई स्थानीय उत्पादनको बिक्री, उद्यमशीलताको विकास, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोड्नु हो। महोत्सवलाई वार्षिक उत्सवका रूपमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्रसँग जोड्न सके सुन्दरहरैँचाको व्यावसायिक पहिचान विस्तार गर्न सकिनेछ।

विवाद र अवरोधबाट पाठ सिक्दै आगामी दिनमा सबै पक्षको सहकार्यमा महोत्सवलाई थप व्यवस्थित बनाउने हो भने सुन्दरहरैँचा फुड फेस्टिबल नगरको पहिचान र आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्नेछ।

जनचर्चा टाइम्स अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *