भारत निकासी गर्न लागिएको ९० लाखभन्दा बढीको फर्सीको बिउ बरामद ,रौतहटमा प्रहरी–स्थानीय झडप, अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा

काठमाडौं । रौतहटमा अवैधरूपमा भारततर्फ निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बिउ प्रहरीले बरामद गरेको छ। बरामद अभियानका क्रममा स्थानीयवासीसँग झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बौधिमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोलमा छापा मारेर ३२२ बोरा फर्सीको बिउ नियन्त्रणमा लिएको हो। त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेको उक्त बिउको तौल १२ हजार ८८० किलो रहेको र अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद कार्यका क्रममा केही स्थानीयले अवरोध गर्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए। त्यसपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपमा तीन जना प्रहरी र तीन जना स्थानीय घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको फर्सीको बिउ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *