भारतमाथि शानदार जित निकाल्दै नेपाल फाइनलमा

इटहरी । नेपाली महिला टोली बंगलादेशमा जारी साफ यू– २० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।  भारतमाथि ३–१ को शानदार पुनरागमन जित निकाल्दै नेपाल फाइनलमा प्रवेश  गरेको हो । 

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको लिग चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो । 

खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । खेलको  ४७ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गरिन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत नेपालका लागि दोस्रो गोल गरिन् । अग्रतापछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३–  १ को जित दिलाइन् । 

पहिलो खेलमा बंगलादेशसँग ३– १ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४– ० ले पराजित गरेको थियो ।  भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्यो । 

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ