नेपाल आज पीएनजीसँग भिड्दै, लक्ष्य विश्वकप छनौट

काठमाडौं । एक दिवसीय मान्यतालाई जोगाएको नेपाली क्रिकेट टिम अब विश्वकपमा सिधै छनोट खेल्ने एक मात्र लक्ष्यसहित मैदानमा उत्रदैछ । राजधानीमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज (सोमबार) नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान ९ः३० बजेदेखि खेल शुरु हुनेछ । नेपालले निरन्तर जितको यात्रालाई अगाडि बढाइरहँदा लगातार तेस्रो जित हासिल गरेको पीएनजीमाथि पनि आज जित निकाल्दै विश्वकप छनोट सिधै खेल्ने योजनामा छ ।हिजो (आइतबार) को खेलमा यूएईमाथि १७७ रनको जित निकाल्दै नेपालले एक दिवसीय मान्यता जोगाएको थियो । अब पीएनजी र फेरि यूएईलाई हराउँदा नेपाल जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने छ ।

सात टोली सहभागी विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले विश्वकप छनोट सिधै खेल्न पाउँछन् । शीर्ष दुईमा रहेर लिग सकाएका च्याम्पियन स्कटल्याण्ड र उपविजेता ओमानपछि तेस्रो टोलीको टुंगो लाग्न बाँकी छ । नेपाल पराजित हुनासाथ ३९ अंकको नामिबियाले अवसर पाउने छ । तर नेपाल दुवै खेलमा विजयी हुँदा ४० अंकसहित नेपाल छनोट हुनेछ ।

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३४ खेलबाट ३६ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ ।३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ । नेपाल बाँकी दुई खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ ।

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने अमेरिका र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् ।

नेपालको बाँकी खेल
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ