लोकनृत्य प्रतियोगितामा ब्राइट फ्युचरको बाजी, सिनियरतर्फ बन्यो नगर प्रथम

लोकनृत्य प्रतियोगितामा ब्राइट फ्युचरको बाजी, सिनियरतर्फ बन्यो नगर प्रथम

सिनियरतर्फ माउन्ट मकालु दोस्रो र द राइजिङ तेस्रो, जुनियरतर्फ हरैँचा मोडल प्रथम

एलएन गच्छदार

सुन्दरहरैँचा। प्याब्सन सुन्दरहरैँचाद्वारा आयोजित नगरस्तरीय लोकनृत्य प्रतियोगितामा ब्राइट फ्युचर सेकेन्डरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै सिनियरतर्फ प्रथम स्थान हासिल गरेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्परामा आधारित आकर्षक प्रस्तुतिमार्फत ब्राइट फ्युचरले प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै नगर प्रथम बन्न सफल भएको हो।

प्रतियोगिताको सिनियरतर्फ माउन्ट मकालु आवासीय स्कुल दोस्रो र द राइजिङ इङ्लिस स्कुल तेस्रो भएका छन्। त्यसैगरी, सुविजिमुर मेमोरियल सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ।

यसैगरी, जुनियरतर्फ हरैँचा मोडल प्रथम भएको छ। बाल प्रतिभा दोस्रो र द राइजिङ तेस्रो भएका छन् भने क्वेस्ट सेकेन्डरी स्कुलले सान्त्वना स्थान हासिल गरेको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैँचा नगर समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नगर प्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गुरागाईंले सुन्दरहरैँचालाई शैक्षिक हबका रूपमा विकास गर्न सामुदायिक विद्यालयसँगै निजी तथा संस्थागत विद्यालयहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले सबै शैक्षिक संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकालले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँको भनाइ थियो।

त्यसैगरी, प्याब्सन सुन्दरहरैँचा नगर अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। विद्यालय तहबाटै विद्यार्थीलाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्दै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतलगायत शिक्षा क्षेत्रका प्रतिनिधि, विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन सुन्दरहरैँचाका नगर सचिव सूर्य दंगालले गर्नुभएको थियो।

प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाभित्र प्याब्सनमा आबद्ध २५ वटा विद्यालय सहभागी भएका थिए। विद्यार्थीहरूले नेपाली मौलिक भेषभूषा, संस्कृति र परम्परामा आधारित लोकनृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनसँगै नयाँ पुस्तामा नेपाली मौलिक कला तथा संस्कृतिप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *