सुन्दरहरैँचालाई शैक्षिक हब बनाउन निजी विद्यालयको योगदान उत्तिकै महत्वपूर्ण : नगर प्रमुख गुरागाईं
सुन्दरहरैँचालाई शैक्षिक हब बनाउन निजी विद्यालयको योगदान उत्तिकै महत्वपूर्ण : नगर प्रमुख गुरागाईं
प्याब्सनको लोकनृत्य प्रतियोगितामा सिनियरतर्फ ब्राइट फ्युचर प्रथम
एलएन गच्छदार
सुन्दरहरैँचा। सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले नगरलाई शैक्षिक हबका रूपमा विकास गर्न सामुदायिक विद्यालयसँगै निजी तथा संस्थागत विद्यालयहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैँचा नगर समितिद्वारा आयोजित नगरस्तरीय लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख गुरागाईंले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरूले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सुन्दरहरैँचालाई कोशी प्रदेशकै शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान भएको नगरका रूपमा स्थापित गर्न सबै शैक्षिक संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकालले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्नुका साथै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी, प्याब्सन सुन्दरहरैँचा नगर अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यालय तहबाटै विद्यार्थीलाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोड्दै अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतलगायत शिक्षा क्षेत्रका प्रतिनिधि, विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन सुन्दरहरैँचाका नगर सचिव सूर्य दंगालले गर्नुभएको थियो।
प्रतियोगिताको सिनियरतर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्रथम भएको छ। माउन्ट मकालु आवासीय स्कुल दोस्रो र द राइजिङ इंगलिस स्कुल तेस्रो भएका छन्। सुविजिमुर मेमोरियल सेकेन्डरी स्कुलले सान्त्वना स्थान हासिल गरेको छ।
त्यसैगरी, जुनियरतर्फ हरैंचा मोडल प्रथम, बाल प्रतिभा दोस्रो तथा द राइजिङ तेस्रो र सान्त्वना क्वेष्ट सेकेण्डरी भएका छन्।
प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाभित्र प्याब्सनमा आबद्ध २५ वटा विद्यालय सहभागी भएका थिए। विद्यार्थीहरूले नेपाली मौलिक भेषभूषा, संस्कृति र परम्परामा आधारित आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए।
शिक्षालाई पाठ्यपुस्तक र परीक्षामा मात्र सीमित नराखी कला, संस्कृति, सिर्जना र प्रतिभासँग जोड्ने उद्देश्यले आयोजित प्रतियोगिताले नगरको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
