तेस्रो वडा अध्यक्ष कप यू–१५ फुटबल : दोस्रो दिन हरैँचा मोडेल र क्वेष्ट स्कुल विजयी
तेस्रो वडा अध्यक्ष कप यू–१५ फुटबल : दोस्रो दिन हरैँचा मोडेल र क्वेष्ट स्कुल विजयी
सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा–१२ स्थित शुक्रबारे खेल मैदानमा सञ्चालित तेस्रो वडा अध्यक्ष कप यू–१५ अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन शनिबार भएका खेलमा हरैँचा मोडेल स्कुल र क्वेष्ट स्कुल विजयी भएका छन्।
शनिबार सम्पन्न पहिलो खेलमा हरैँचा मोडेल स्कुलले जनता माध्यमिक विद्यालय, पचामलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। त्यसैगरी दोस्रो खेलमा क्वेष्ट स्कुलले लभ्ली एन्जल्स स्कुल, मृगौलियालाई १–० गोल अन्तरले हराउँदै जित हासिल गरेको हो।
दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी म्यान अफ द म्याच घोषित भए। पहिलो खेलमा हरैँचा मोडेलका रोनिस मण्डल र दोस्रो खेलमा क्वेष्ट स्कुलका युनिक खड्का म्यान अफ द म्याच घोषित भएका छन्।
शनिबारको खेलमा समाजसेवी मोहनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुने आयोजकले जनाएको छ। पहिलो खेलमा श्री इन्द्रपुर स्कुल र बालप्रतिभा स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सफल सिद्धार्थ स्कुल र बाल सदन एकेडेमी आमनेसामने हुनेछन्।
शुक्रबारे युवा क्लबको आयोजनामा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ सञ्चालित प्रतियोगिता मङ्सिर १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा विजेता टोलीले नगद ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।




