जापानमा ६ महिनादेखि थलिएकी विष्णुको केएमसीमा निःशुल्क उपचार सुरु, स्वागत गर्न विमानस्थलमै पुगे डा. शर्मा

आर्थिक अभावले जापानमै रोकिएकी २२ वर्षीया विष्णु स्वदेश फर्किइन्, आमाछोरीको भेटले अस्पतालमा भावुक दृश्य

काठमाडौं : जापानमा मस्तिष्कघात (स्ट्रोक) भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर सोमबार स्वदेश फर्किएकी छन्। स्वदेश आइपुगेपछि उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु गरिएको छ।

आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो। डा. शर्माकै पहलमा केएमसीमा उनको उपचारको सम्पूर्ण खर्च बेहोर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

नेपाल एयरलाइन्सको विमानबाट सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी विष्णुको स्वागतका लागि डा. शर्मा स्वयं काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित विमानस्थल पुगेका थिए। एम्बुलेन्ससहित विमानस्थल पुगेको चिकित्सक टोलीले उनलाई त्यहाँबाट सिधै अस्पताल पुर्‍याएको थियो।

अस्पताल आइपुगेपछि विष्णुले डा. शर्मालाई ‘म अहिले कहाँ छु?’ भनेर सोधेकी थिइन्। त्यसको जवाफमा डा. शर्माले हात मिलाउँदै भने, ‘तपाईं अहिले नेपालको काठमाडौं मेडिकल कलेजमा हुनुहुन्छ।’

आफू आफ्नै देश फर्किएको र उपचारका लागि अस्पताल आइपुगेको जानकारी पाएपछि विष्णु भावुक बनेकी थिइन्। अस्पतालको शय्यामा आमालाई आफ्नै अगाडि देखेपछि भने उनले आँसु थाम्न सकिनन्। लामो समयदेखि परदेशमा उपचाररत छोरीलाई भेट्न उनकी आमा बागलुङबाट केएमसी आइपुगेकी थिइन्। छोरीलाई आफ्नै अगाडि देख्दा आमाका आँखाबाट पनि आँसु रोकिएनन्। लामो समयको दूरी, पीडा र प्रतीक्षापछि भएको आमाछोरीको भेटले अस्पतालको वातावरण नै भावुक बनेको थियो।

विष्णु अस्पतालबाट डिस्चार्ज नहुँदासम्म लाग्ने उपचारलगायत सम्पूर्ण खर्च डा. शर्माले बेहोर्ने भएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले जनाएका छन्। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने डा. शर्माको भनाइ छ।

रोजगारी र सुन्दर भविष्यको खोजीमा जापान पुगेकी विष्णुको अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। परदेशमा बिरामी परेपछि उनले लामो समयदेखि उपचार र स्वास्थ्य समस्यासँग संघर्ष गर्नुपरेको थियो। आफ्नै देश फर्किएर परिवार र आफन्तको साथमा उपचार गराउने उनको चाहना भए पनि आर्थिक समस्याका कारण स्वदेश फर्किनसमेत कठिन भइरहेको थियो।

यसै क्रममा जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले विष्णुको अवस्थाबारे जानकारी गराएका थिए। आर्थिक अभावका कारण एक नेपाली युवतीले परदेशमा उपचारका लागि भोगिरहेको कठिनाइ र स्वदेश फर्किनसमेत नसकेको अवस्थाबारे जानकारी पाएपछि डा. शर्माले तत्कालै उनलाई नेपाल फर्काउने र उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार आवश्यक पहल गरी विष्णुको स्वदेश फिर्ती तथा केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो।

स्वास्थ्य उपचारको अभावमा कुनै पनि नागरिकले जीवनसँग संघर्ष गर्नुपर्ने अवस्था आउन नहुने मान्यता राख्दै आएका डा. शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रलाई सामाजिक उत्तरदायित्व तथा मानवीय सेवासँग जोड्दै आएको जनाइएको छ। काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको पनि जनाइएको छ।

डा. शर्माको पहलमा ६ महिनादेखि परदेशमा स्वास्थ्यसँग संघर्ष गरिरहेकी विष्णु अन्ततः आफ्नै देश फर्किएर परिवारको साथमा उपचार गराउँदै छिन्। उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *