दूषित खानाले वर्षेनि ६० करोड बिरामी, खाद्य सुरक्षाप्रति सचेत गराउँदै विश्व दिवस

काठमाडौँ/ विश्वभर हरेक वर्ष दूषित खाद्यवस्तुका कारण करिब ६० करोड मानिस बिरामी पर्ने र चार लाख २० हजार जनाको ज्यान जाने तथ्याङ्क सार्वजनिक भइरहँदा खाद्य सुरक्षाप्रति थप सचेत हुन विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ शनिबार विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्यवस्तुको सुनिश्चितता मानव स्वास्थ्यको आधारभूत आवश्यकता भएको भन्दै दिवसले उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलामा सुरक्षा मापदण्ड पालना गर्न आह्वान गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार दूषित खाना र पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गरेका छन्। यस्ता जोखिमहरू सामान्यतया आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षा जनस्वास्थ्यको महत्वपूर्ण विषय बनेको छ।

तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिका खाद्यजन्य रोगबाट सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ भने कुल रोगभारको ४० प्रतिशत हिस्सा पनि यही उमेर समूहले वहन गर्ने गरेको छ।

विज्ञहरूले सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानी, असल कृषि अभ्यास, सुरक्षित भण्डारण तथा उपभोक्ता सचेतनामा जोड दिएका छन्। उनीहरूका अनुसार सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक र उपभोक्ताबीचको समन्वित प्रयासबाट मात्र खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ।

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेपछि सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले यसको प्रवर्द्धन तथा समन्वय गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *