चैत १ देखि प्रदर्शनमा आउने ‘राजागंज’को प्रचारप्रसार शिल्पि थिएटर, सुन्दरहरैंचामा
सुन्दरहरैंचा, मोरङ – नेपाली फिल्म ‘राजागंज’ को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार अभियान तिव्र बनाइएको छ। यही क्रममा, निर्देशक दीपक रौनियारसहित फिल्मका निर्माताहरू फिल्मको प्रमोशनका लागि मोरङको सुन्दरहरैंचास्थित शिल्पि थिएटर पुगेका छन्।
चैत १ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको ‘राजागंज’ नेपालबाहिर भने ‘पूजा, सर’ शीर्षकमा प्रिमियर भइसकेको छ। स्वदेशमा ‘राजागंज’ नाममा रिलिज हुन लागेको यस फिल्मले समाजमा विद्यमान विभिन्न चुनौतीहरू उजागर गर्ने लक्ष्य राखेको छ।
महिलाप्रधान कथा, आशा मगराती मुख्य भूमिकामा
महिलाप्रधान भनिएको यो फिल्ममा आशा मगराती मुख्य भूमिकामा छिन्। साथै, दयाहाङ राई, विजय बराल, निकिता चण्डक, ऋचा शर्मा, आरती मण्डल, गौमाया गुरूङ, पशुपति राई, पुष्पा यादव, घनश्याम मिश्रा, परमेश्वर झा, रिंकु गायत्री झा लगायतका कलाकारको अभिनय रहेको छ।
निर्देशक रौनियारले फिल्मको विषयमा बोल्दै भने, “यो केवल मनोरञ्जनात्मक फिल्म मात्र होइन, सामाजिक सन्देश बोकेको चलचित्र हो। दर्शकले यसमा वास्तविक नेपाली समाजको झल्को पाउनेछन्।”
अनुराग कश्यप पनि निर्माताको रूपमा जोडिए
फिल्मलाई नेपाली फिल्म उद्योगका चर्चित निर्माता रामबाबु गुरूङ र दयाहाङ राई ले निर्माण गरेका हुन्। विशेष कुरा के छ भने, यसमा भारतीय चर्चित निर्देशक अनुराग कश्यप पनि सह-निर्माताको रूपमा जोडिएका छन्।
सुन्दरहरैंचामा भएको प्रिमियर शोमा उपस्थित दर्शकहरूले फिल्मको ट्रेलर हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए। फिल्म चैत १ बाट नेपालभर प्रदर्शन हुने भएकाले निर्माण टोली दर्शकहरूलाई हलमा आएर हेर्न अनुरोध गरिरहेका छन्।
फिल्मको प्रमोशन देशभर जारी
फिल्म युनिट हाल नेपालका विभिन्न शहरमा ‘राजागंज’ को प्रचार गरिरहेको छ। यसअघि काठमाडौं, पोखरा, बुटवल, धरान जस्ता प्रमुख शहरमा विशेष शो गरिएको थियो। निर्माता गुरूङले भने, “नेपाली दर्शकलाई फरक स्वाद दिन हामीले मेहनत गरेका छौं। अब दर्शकको माया पाउने अपेक्षा छ।”
नेपालमा नयाँ शैलीको कथावस्तु र महिलाको नेतृत्वलाई प्राथमिकता दिने यो फिल्मले दर्शकहरूलाई कत्तिको प्रभावित गर्छ भन्ने कुरा भने रिलिजपछि मात्रै थाहा हुनेछ।
