१३ वर्षपछि कमला पुल सञ्चालनको तयारी, एक महिनाभित्र काम सक्न मन्त्रीको निर्देशन
सिरहा/ लामो समयदेखि निर्माण र मर्मतका विवादमा अल्झिएको कमला पुल आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र पार्न सरकार सक्रिय भएको छ। सहरी विकासमन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गर्दै असार २५ गतेभित्र पुल सञ्चालन हुने गरी बाँकी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
मन्त्री लम्सालले पुलको भासिएको स्ल्याब मर्मत कार्य समयमै पूरा गरी सर्वसाधारणको आवागमन सहज बनाउनुपर्नेमा जोड दिए। उनले पुल निर्माणका लागि आवश्यक बजेटको अभाव नहुने स्पष्ट पार्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न आग्रह गरे।
अनुगमनका क्रममा सिरहाका संघीय सांसद, हुलाकी राजमार्ग निर्देशनालयका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू पनि सहभागी थिए। उनीहरूले निर्माण प्रगतिबारे जानकारी लिँदै काममा ढिलाइ हुन नदिन सम्बन्धित पक्षलाई सचेत गराएका छन्।
विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माण पटक–पटक म्याद थपिँदै २०७८ मा अन्तिम चरणमा पुगेको थियो। तर सोही वर्ष आएको बाढीले दुई वटा पिलर भासिएपछि चार वटा स्ल्याबमा क्षति पुगेको र पुल सञ्चालन हुन नसकेको थियो।
लामो समयदेखि पुल सञ्चालन नहुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पुनर्निर्माणका लागि पर्याप्त रकम नछुट्याइएको भन्दै स्थानीय तहमा चिन्ता व्यक्त भइरहेका बेला मन्त्रीको स्थलगत अनुगमन र निर्देशनपछि कामले गति लिने अपेक्षा गरिएको छ।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले पनि निर्धारित समयभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यअनुसार काम भइरहेको जनाएको छ।
