कोशी प्रदेशको ३५ अर्ब ८७ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट पारित
विराटनगर, असार १३
कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
असार १ गते बजेट प्रस्तुत भएपछि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। छलफलपछि विनियोजन विधेयक पारित गर्दै बजेटलाई अनुमोदन गरिएको हो।
सरकारले चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ।
बजेट कार्यान्वयनका लागि आवश्यक रकममध्ये ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने, १२ अर्ब ३९ करोड रुपैयाँ राजस्व बाँडफाँटबाट प्राप्त हुने र बाँकी संघीय सरकारबाट अनुदानमार्फत व्यवस्थापन गरिने उल्लेख गरिएको छ।
बजेट पारित भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत प्रदेशसभाका माननीय सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन्। उनले लेखेका छन्, “सम्पूर्ण माननीय सदस्य प्रती हार्दिक धन्यवाद एंव आभार व्यक्त गर्दछु।”
