एक दशक बित्दा पनि पूरा भएन सर्लाहीको हुलाकी सडक, सात पटक म्याद थप्दा पनि अधुरै

सर्लाही । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सर्लाही खण्डको निर्माण कार्य ठेक्का लागेको झण्डै एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। सात पटकसम्म म्याद थप गरिए पनि सडक र पुल निर्माणको काम अधुरै रहेपछि स्थानीयवासी निराश बनेका छन्।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले संग्रामपुरस्थित बाँके खोलादेखि बलरास्थित बागमती नदीसम्मको ४० किलोमिटर सडक तीन खण्डमा विभाजन गरी २०७३ साउनमा ठेक्का सम्झौता गरेको थियो। तर निर्माण कम्पनी र सम्बन्धित निकायको ढिलासुस्तीका कारण आयोजना अझै सम्पन्न हुन सकेको छैन।

निर्देशनालयका सूचना अधिकारी तथा इन्जिनियर रञ्जितकुमार रायका अनुसार बाँके खोलादेखि मलंगवासम्मको १५ किलोमिटर सडक खण्डमा अझै धेरै काम बाँकी छ। कतिपय स्थानमा गरिएको कालोपत्रे समेत बिग्रिएको छ भने धेरै भाग अधुरो अवस्थामै रहेको उनले बताए।

मलंगवादेखि रहुवासम्मको १५ किलोमिटर सडकमा अधिकांश कालोपत्रे सम्पन्न भए पनि मुसैलीस्थित एकपोखरी अगाडि करिब १०० मिटर सडक कालोपत्रे गर्न बाँकी छ। त्यस्तै रहुवादेखि बलरास्थित बागमती नदी किनारसम्मको १० किलोमिटर सडक खण्डको निर्माण कार्य पनि अझै पूरा भएको छैन।

सडक निर्माणसँगै झिम र लखनदेही नदीमा बन्ने दुई ठूला पुलको कामसमेत अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। करिब ३०–३० करोड रुपैयाँ लागतका दुवै पुलको ठेक्का वेदांशी कन्स्ट्रक्सनले पाएको भए पनि निर्माण प्रक्रिया विभिन्न प्राविधिक कारणले रोकिएको छ।

इन्जिनियर रायका अनुसार लखनदेही पुलको डिजाइन स्वीकृत भए पनि निर्माण सुरु हुन सकेको छैन भने झिम पुलको डिजाइन अझै स्वीकृत नभएकाले काम अघि बढ्न सकेको छैन। दुवै पुल निर्माणको म्याद २०८४ साउन मसान्तसम्म तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए। केही दिनअघि आयोजना कार्यालयका प्रमुखसँग छलफल भएको र स्थानीय अवरोधका कारण रोकिएको कौडेना क्षेत्रको समस्या समेत समाधान गरिएको उनले जानकारी दिए।

‘ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक निर्देशन दिएका छौँ। तोकिएको अवधिमा काम पूरा नभए कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ,’ कडरियाले भने। हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासी लामो समयदेखि असन्तुष्ट छन्। आयोजना छिटो सम्पन्न गराउन भन्दै जिल्लाका सांसद, पालिका प्रमुख, नागरिक समाजका प्रतिनिधि तथा स्थानीयवासीले पटक–पटक दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

मलंगवा–२ का स्थानीय मनोज यादवले निर्माण कम्पनी र सम्बन्धित निकाय दुवैको कमजोर कार्यसम्पादनका कारण आयोजना वर्षौँदेखि अलपत्र परेको बताए। ‘समयमै अनुगमन र आवश्यक दबाब भएको भए सडक यति लामो समयसम्म अधुरो रहने थिएन,’ उनले भने, ‘दैनिक आवतजावतमा समस्या भोगिरहेका स्थानीय अब छिटो काम सम्पन्न भएको हेर्न चाहन्छन्।’

सरकारका मन्त्रीहरूले पटक–पटक सर्लाही भ्रमणका क्रममा सडक निर्माण चाँडै सम्पन्न हुने आश्वासन दिए पनि व्यवहारमा प्रगति नदेखिएपछि स्थानीयवासीमा निराशा बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *