किसान बचाउन घाटा सहन तयार छौँ : कामधेनुका अध्यक्ष यादप ढकाल

दूधको मूल्य समायोजनदेखि १५ हजार लिटर दूध संकलन वृद्धि र पाँच नयाँ आउटलेट सञ्चालनसम्मको योजना सार्वजनिक

एलएन गच्छदार | सुन्दरहरैँचा

किसानको दूध उत्पादन लागत निरन्तर बढ्दै जाँदा दुग्ध व्यवसाय नै संकटमा पर्न थालेको भन्दै कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादप ढकालले किसानको संरक्षणका लागि संस्था आवश्यक परे घाटा सहेर पनि अघि बढ्न तयार रहेको बताउनुभएको छ।

इटहरी–१ आपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाको केन्द्रीय कार्यालयमा आयोजित किसानको दूध उत्पादन लागतको सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले किसानको हितलाई संस्थाको पहिलो प्राथमिकता बनाउनुपर्ने धारणा राख्नुभएको हो।

उहाँले संस्थाको आर्थिक अवस्थाबारे स्पष्ट पार्दै करिब साढे सात करोड रुपैयाँ सेयर पुँजी रहेको र संस्थासँग दुई सय करोड रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको उल्लेख गर्नुभयो। त्यसैले किसानलाई राहत दिनुपर्ने अवस्थामा सामान्य घाटाबाट डराउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो।

‘हामीले नाफा हुँदा बोनस बाँड्न सक्छौँ भने घाटा हुँदा पनि त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। तर किसान नै बचेनन् भने डेरी कसका लागि चलाउने ? आज हाम्रो प्राथमिकता नाफाभन्दा पनि किसान बचाउने हुनुपर्छ,’ अध्यक्ष ढकालले भन्नुभयो।

उहाँका अनुसार संस्थाले यसअघि पनि किसानको दूधको मूल्य तथा भुक्तानीमा राहत पुर्‍याउन अतिरिक्त रकम खर्च गर्दै आएको छ। पहिलो वर्ष मात्रै किसानलाई करिब ५५ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो।

दूध उत्पादनको लागत बढिरहेको अवस्थामा पशु आहार तथा दानाको मूल्य भने छोटो अवधिमै पटक–पटक वृद्धि हुँदा किसान थप मारमा परेको उहाँको भनाइ छ। दाना उद्योगहरू संगठित भएर मूल्य बढाउने तर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्थाले दुग्ध क्षेत्रको समस्या गम्भीर बनाएको उहाँले बताउनुभयो।

किसानको समस्यालाई सम्बन्धित मन्त्रालय, विभाग तथा सरोकारवाला निकायसम्म पुर्‍याउन आफूले निरन्तर पहल गरेको स्मरण गर्दै अध्यक्ष ढकालले दूधको मूल्य समायोजनका लागि विभिन्न तहमा छलफल र दबाब सिर्जना गर्नुपरेको बताउनुभयो।

उहाँले संस्थाले किसानको दूध खरिद मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा वृद्धि गर्दा दैनिक खरिद खर्च करिब एक लाख पाँच हजार रुपैयाँ र मासिक करिब ३१ लाख ५० हजार रुपैयाँ थपिने अनुमान प्रस्तुत गर्नुभयो। तर बजारमा बिक्री मूल्य तत्काल बढाउन नसकिने अवस्था रहेकाले यसबाट संस्थालाई थप आर्थिक भार पर्ने उहाँको भनाइ थियो।

‘हामीले किसानबाट दूधको मूल्य बढाएर खरिद गर्ने तर बजारमा बिक्री मूल्य तत्काल बढाउन नसक्ने अवस्था छ। त्यसैले यो निर्णय संस्थाका लागि चुनौतीपूर्ण भए पनि किसानको हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो।

बजार विस्तारसँगै १५ हजार लिटर दूध संकलन बढाउने लक्ष्य

अध्यक्ष ढकालले किसानको दूध उत्पादनलाई बजारसँग जोड्न कामधेनुले पछिल्ला वर्षमा उल्लेखनीय बजार विस्तार गरेको दाबी गर्नुभयो। विगतमा घिउ तथा पाउडर दूध ठूलो परिमाणमा मौज्दात राख्नुपर्ने अवस्था रहे पनि अहिले बजारको माग बढ्दा पर्याप्त उत्पादन उपलब्ध गराउनसमेत कठिन हुन थालेको उहाँले बताउनुभयो।

संस्थाका उत्पादन दैनिक करिब ४५ देखि ५० हजार उपभोक्ताले खरिद तथा उपभोग गर्ने गरेको उल्लेख गर्दै उहाँले सहकारी संस्थाहरूबीच पनि कामधेनुका उत्पादनको बजार विस्तार भइरहेको जानकारी दिनुभयो।

आगामी दिनमा बजारको मागअनुसार दूध संकलन वृद्धि गर्ने र उपभोक्ताको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गर्दै अध्यक्ष ढकालले चालु महिनाभित्र थप १५ हजार लिटर दूध संकलन बढाउने लक्ष्य राखिएको बताउनुभयो।

त्यसैगरी, उपभोक्तालाई सहज रूपमा दुग्धजन्य उत्पादन उपलब्ध गराउन पाँचवटा नयाँ आउटलेट सञ्चालन गर्ने योजना पनि अघि सारिएको उहाँले जानकारी दिनुभयो। नयाँ आउटलेटमार्फत संस्थाका उत्पादनलाई बिहानदेखि बेलुकासम्म उपभोक्तासम्म पुर्‍याउने तयारी रहेको उहाँको भनाइ थियो।

किसानको डेरी भएकाले किसानकै हितमा निर्णय हुनुपर्छ

अध्यक्ष ढकालले कामधेनु कुनै व्यक्ति विशेषको नभई किसानहरूको संस्था भएको उल्लेख गर्दै यसको नेतृत्व र सञ्चालनमा पनि किसान तथा सहकारीकर्मीको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले वर्तमान नेतृत्वपछि पनि संस्थालाई यही सहकारी अभियानमा जोडिएका अध्यक्ष, व्यवस्थापक तथा सञ्चालकहरूले अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।

‘यो किसानको डेरी हो। यसलाई किसानले नै अपनत्व लिनुपर्छ। हामीले उत्पादन गर्ने पनि हामी, उपभोग गर्ने पनि हामी नै हौँ। त्यसैले सबै सहकारीका अध्यक्ष र व्यवस्थापकले आफ्ना संस्थामा कामधेनुका उत्पादनलाई प्राथमिकता दिनुभयो भने बजार अझ विस्तार हुन्छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ढकालले संस्थामा नयाँ नेतृत्व विकास गर्ने र सहकारीकै सदस्य तथा सञ्चालकहरूबाट सक्षम नेतृत्व तयार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले किसानको हितका लागि दूधको मूल्य समायोजन, अतिरिक्त मूल्य भुक्तानी, पशु बीमा तथा अन्य सहुलियतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा दूध उत्पादनको वास्तविक लागत, दाना तथा पशु आहारको मूल्यवृद्धि, किसानले पाउनुपर्ने दूधको उचित मूल्य, दुग्धजन्य उत्पादनको बजार व्यवस्थापन र सहकारी संस्थाको आगामी रणनीतिबारे छलफल भएको थियो।

अध्यक्ष ढकालले किसानको उत्पादनलाई बजारसँग जोड्दै किसानलाई आर्थिक रूपमा सक्षम बनाउनु नै कामधेनुको दीर्घकालीन उद्देश्य भएको स्पष्ट पार्नुभयो। उहाँले किसान, सहकारी संस्था र उपभोक्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *