दूधको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा वृद्धि गर्दै कामधेनु, किसानका लागि सहुलियत ऋणदेखि बीमासम्मका योजना
दूधको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा वृद्धि गर्दै कामधेनु, किसानका लागि सहुलियत ऋणदेखि बीमासम्मका योजना
३५० किसानलाई ६ प्रतिशत ब्याजमा सहुलियत ऋण, १९ पालिकामा पशु प्राविधिक नियुक्ति
एलएन गच्छदार
इटहरी (सुनसरी) : दुग्ध उत्पादक किसानलाई राहत दिने उद्देश्यसहित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दूधको खरिद मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा वृद्धि गरेको छ। सहकारीले बढाइएको मूल्य आगामी मङ्सिर १ गतेदेखि लागू गर्ने भएको छ।
किसानले दूध उत्पादन गर्दा बेहोर्नुपरेको लागत, पशु आहारको महँगो मूल्य, पशु स्वास्थ्य तथा दुग्ध बजारीकरणमा देखिएका समस्या सम्बोधन गर्ने उद्देश्यले सहकारीले सोमबार आफ्नै सभाहल इटहरी–१, आँपगाछीमा किसानको दूध उत्पादन लागतका सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामलगायत विभिन्न जिल्लाबाट आएका दुग्ध उत्पादक किसान, सहकारीका व्यवस्थापक, कर्मचारी तथा सञ्चालक समिति प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले दूध उत्पादनमा बढ्दो लागत, उचित मूल्य, नियमित भुक्तानी, पशु आहार, बीमा तथा बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा र सुझाव राखेका थिए। प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो।
सहकारीका कार्यप्रमुख नवराज नेपालका अनुसार किसानको उत्पादन लागतलाई ध्यानमा राख्दै दूधको खरिद मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा वृद्धि गरिएको हो। किसानलाई दुग्ध व्यवसायमा टिकाइराख्न उत्पादन लागत घटाउने, नियमित दूध भुक्तानी सुनिश्चित गर्ने र बजार व्यवस्थापन प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको उनले बताए।
सहकारीले हाल दैनिक करिब २५ हजार लिटर दूध संकलन तथा खपत गर्दै आएको छ। चालु आर्थिक वर्षभित्र थप १५ हजार लिटर दूध संकलन तथा खपत गरी दैनिक ४० हजार लिटर पुर्याउने लक्ष्य राखिएको नेपालले जानकारी दिए।
किसानलाई सहुलियत ऋणदेखि पशु बीमासम्म
कामधेनु सहकारीले आगामी नीति तथा कार्यक्रममा किसानको उत्पादन लागत घटाउने र दुग्ध उत्पादनलाई दिगो बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि सारेको छ। यसअन्तर्गत ३५० जना किसानलाई ६ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने योजना छ।
किसानको पशु उपचार, बीमा तथा आहारा व्यवस्थापनलाई सहज बनाउन सहकारीले हाल कारोबार गरिरहेका १९ वटा पालिकामा कम्तीमा एक–एक जना पशु प्राविधिक नियुक्त गरिसकेको छ । यसका लागि सहकारीले भेटेरिनरी विभागसमेत सञ्चालनमा ल्याएको छ। उक्त विभागमार्फत दूधको गुणस्तर सुधार, उत्पादन लागत न्यूनीकरण, गोठ व्यवस्थापन तथा पशु आहारसम्बन्धी तालिम र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।
सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम र धनकुटामा पशुसम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने नीति पनि सहकारीले अघि सारेको छ।
त्यसैगरी, किसानले खरिद गरेका पशुको बीमा गर्दा प्रतिलिटर १० लिटर दूध उत्पादन बराबर एउटा पशुलाई आधार मानी बीमा प्रिमियमको ७५ प्रतिशत रकम सहकारीले भुक्तानी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रारम्भिक सहकारीको सिफारिसमा गाई तथा भैँसी मरेमा बीमा पोलिसीका आधारमा किसानलाई ४५ दिनसम्म सापटी रकम उपलब्ध गराउने योजना पनि समेटिएको छ।
किसानलाई वर्षमा चारपटक शेयर रकम तथा दूध उत्पादनका आधारमा नाम्ले रोगविरुद्धको औषधि उपलब्ध गराउने कार्यक्रमसमेत अघि सारिएको छ।
दैनिक ४० हजार लिटर दूध संकलनको लक्ष्य, दाना उद्योग र साइलेज खेतीमा जोड
सहकारीले हालको दैनिक २५ हजार लिटर दूध संकलन तथा खपतलाई बढाएर ४० हजार लिटर पुर्याउने लक्ष्य राखेको छ। यसका लागि दुग्ध उत्पादन क्षेत्रको अध्ययन गरी कम्तीमा पाँचवटा नयाँ दूध संकलन केन्द्र स्थापना गर्ने योजना छ।
दूध उत्पादन गर्ने किसान, सहकारी संस्था तथा व्यावसायिक कृषकसँगको सम्बन्ध थप मजबुत बनाउन २५५ जना नयाँ किसानलाई शेयर सदस्य बनाउने र सदस्यले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाइएको सहकारीको नीति तथा कार्यक्रममा उल्लेख छ।
चालु आर्थिक वर्षभित्र जग्गा प्राप्त गरी आफ्नै दाना उद्योग स्थापना गर्ने तथा पशु आहारका रूपमा प्रयोग हुने साइलेज खेतीलाई विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। साइलेज खेती विस्तार तथा व्यवस्थापन गर्ने विषयले समेत कार्यक्रममा प्राथमिकता पाएको थियो।
दुग्धको दीर्घकालीन स्रोत व्यवस्थापन र सदस्यता विस्तारका लागि उदयपुर जिल्लालाई सहकारीको कार्यक्षेत्रमा थप्ने प्रक्रिया अघि बढाउने योजना पनि रहेको छ।
दूध उत्पादनका आधारमा किसानलाई थप प्रोत्साहन
सहकारीले दूध उत्पादन तथा बिक्री गर्ने व्यावसायिक किसानलाई उत्पादनको परिमाणका आधारमा थप प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ। प्रस्तावित व्यवस्थाअनुसार दैनिक ५० देखि १०० लिटरसम्म दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ, १०० देखि १५० लिटरसम्म बिक्री गर्नेलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा र १५० लिटरभन्दा बढी बिक्री गर्नेलाई प्रतिलिटर ३ रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइनेछ।
त्यसैगरी, सम्झौताअनुसार दूध बिक्री गर्ने व्यावसायिक किसानलाई प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन पुरस्कार दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। शेयर सदस्य किसानले सहकारीबाट खरिद गरेको दानाको परिमाणका आधारमा प्रतिकिलो एक रुपैयाँ प्रोत्साहन उपलब्ध गराउने नीति छ।
किसानको अनिवार्य दुई प्रतिशत बचतलाई निरन्तरता दिने तथा दूध खरिदमा आवश्यकताअनुसार सञ्चालक समितिको निर्णयबाट विशेष स्किम मूल्य निर्धारण गर्न सकिने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
किसानमुखी कार्यक्रमलाई प्राथमिकता
कार्यक्रममा सहकारीका लेखा समिति संयोजक देवीप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै किसानको हितलाई केन्द्रमा राखेर सहकारीले नीति तथा कार्यक्रम अघि बढाएको बताए। दूधको मूल्य वृद्धि मात्रै पर्याप्त नहुने भन्दै किसानको उत्पादन लागत घटाउने, पशु आहार व्यवस्थापन गर्ने, पशु स्वास्थ्य र बीमाको सुविधा विस्तार गर्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
सहकारीका अध्यक्ष यादप ढकाल को अध्यक्षतामा भएको कार्यक्रममा किसान तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले राखेका गुनासा, सुझाव र सल्लाहलाई आगामी नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको थियो।
दूधको खरिद मूल्य वृद्धि, सहुलियत ऋण, पशु बीमा, पशु प्राविधिकको व्यवस्था, दाना उद्योग स्थापना, साइलेज खेती विस्तार र दूध संकलन क्षमता वृद्धि गर्ने योजनाले किसानको उत्पादन लागत घटाउनुका साथै पूर्वी नेपालको दुग्ध क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
