सलकपुरमा पाथिभरा माताको प्राण प्रतिष्ठा महोत्सव तथा श्रीमद देविभागवत नवाह ज्ञान महायज्ञ सुरु
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ८ मा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने सलकपुरमा पाथिभरा माताको प्राण प्रतिष्ठा महोत्सव तथा श्रीमद देविभागावत नवाह ज्ञान महायज्ञ सुरु भएको छ।
बुधबार मन्दिर परिसरबाट कलश यात्रा सुरुसंगै सलकपुरको श्रीकृष्ण प्रणामी मन्दिर परिक्रमा संगै झुल्के जलाधार क्षेत्रमा जल उठाएका थिए। मुल समारोह समिति संयोजक रहेका निवर्तमान प्रदेश सांसद लोकप्रसाद संग्रौलाका अनुसार हामी सबैको आराध्यदेवी भगवती पाथिभरा मातालाई हाम्रो नगर सुन्दरहरैचामा हामी नगरवासी मिलेर प्राण प्रतिष्ठा गराउन गइरहेका बताए ।

भगवती पाथिभराको कृपाप्रसादद्वारा वैशाख २३ गते देखि २५ गतेसम्म पण्डित श्री मधुसुदन घिमिरेको आचार्यत्वमा प्राण प्रतिष्ठा वैशाख २६ गते अनवरत रुपमा वेद, रुद्री र सप्तशती चण्डी पाठ गरेको थियो।
साथै वैशाख २७ गतेदेखि जेष्ठ ४ गतेसम्म सुप्रसिद्ध भागवताचार्य अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्यायको मुखारविन्दबाट धर्म, संस्कार, संस्कृतिका जान्नैपर्ने महत्वपूर्ण विवेचना सहित श्रीमद् देवी भागवत नवाह महापुराणको संगीतमय प्रवचन हुने आयोजकले जनाएको छ।
बुधबार संघीय सांसद डा. शेखर कोइरालाबाट नवाहा ज्ञान महायज्ञको समेत समुदघाटन गरेका छन् भने यसलाई राजनीतिक बिषय बस्तु नबनाएर धार्मिक आस्थाका रुपमा सहयोग गरिदिन समारोहका संयोजक संग्रौलाले अनुरोध गरेका छन्।

वैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ७:३० बजेसम्म दैनिक पूजा आरती, ७:३० देखि १०:३० बजेसम्म पाठपारायण, १०:३० देखि १२:०० बजेसम्म सङ्गीतमय कथा प्रवचन हुने भएको छ भने दिउसो १२:३० देखि १:३० बजेसम्म विश्राम, १:३० बजेदेखि ५:३० बजेसम्म सङ्गीतमय कथा प्रवचन, बेलुका ७ बजेदेखि १० बजेसम्म महात्म्य, झाँकी, भजन कीर्तन हुनेछ। आगामी जेठ ३ गते सायमकालीन समयमा लक्ष्यदीप प्रज्ज्वलन, जाग्राम, जेठ ४ गते पूर्णाहुति, फूलपाती तथा प्रसाद वितरण प्रसाद वितरण हुने जनाएको छ।






