नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुन्दरहरैंचा नगर कमिटीले नगर विकासका लागि १२ बुँदे मागपत्र सार्वजनिक
सुन्दरहरैंचा, २०८२ असार ४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुन्दरहरैंचा नगर कमिटी, मोरङले नगरभित्रका जनसमस्या, सेवा प्रवाह र नीति कार्यान्वयनको सन्दर्भमा १२ बुँदे सुझाव तथा मागपत्र सार्वजनिक गरेको छ। नगर कमिटीका अध्यक्ष तिलकप्रसाद ढकालद्वारा हस्ताक्षरित उक्त मागपत्रमा स्थानीय जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयहरू उठाइएको छ।
मागपत्रमा सार्वजनिक स्थलहरूमा सडक बत्तीको नियमित जडान तथा मर्मत, विद्यालयमा अभिभावक सहयोगको स्पष्ट कार्यविधि र निजी विद्यालयको शुल्कको अनुगमन गरी एकरूपता कायम गर्न जोड दिइएको छ।
यस्तै, गत वर्षको तुलनामा घरजग्गा कर अत्याधिक बढाइएको भन्ने जनगुनासो सम्बोधन गर्न सर्वपक्षीय छलफलको माग गरिएको छ। नगरका घरधुरी तथा उद्योगधन्दाको तथ्यांक अद्यावधिक गरी प्रत्येक घरमा पोस्ट बक्स राख्ने, महत्त्वपूर्ण सूचना हुलाकमार्फत पु¥याउने व्यवस्थाको प्रस्ताव पनि गरिएको छ।
साना तथा मझौला उद्योगहरू अन्य पालिकामा पलायन भइरहेका छन् भन्ने गुनासोप्रति चिन्ता व्यक्त गर्दै, कर प्रणालीमा सहुलियतको माग गरिएको छ। साथै, हाटबजारहरूको स्तरोन्नति र व्यवस्थित कृषि तथा मबेसी बजार निर्माणको पहल गर्न जोड दिइएको छ।


स्वास्थ्य बीमा तथा कृषि बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने, पूर्वाधार निर्माणमा लागत साझेदारीको अन्त्य गर्दै उपभोक्ता समितिलाई जिम्मेवार बनाउनुपर्ने, नगर खेलकुद परिषद् र खेल एकेडेमीलाई सशक्त बनाउने, र खानीजन्य स्रोतहरूको दोहन र भ्रष्टाचार रोक्न मागपत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, कित्ताकाट सम्बन्धी तीन टुक्राको पाबन्दी हटाउन, विज्ञान तथा प्राविधिक क्षेत्रमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति कोटा तोक्नसमेत माग गरिएको छ।
अध्यक्ष तिलकप्रसाद ढकालले जनताको समस्यालाई गम्भीरतापूर्वक लिइ नगर विकासमा व्यापक सुधारको खाँचो रहेको भन्दै सम्बन्धित निकायसँग तत्काल सुनुवाइको माग गरेका छन्।
“संसारका श्रमजीवीहरू एक हौं!” भन्ने नारासहित पार्टीले जनहितका यस्ता विषयमा निरन्तर जनदबाब सिर्जना गर्दै जाने प्रतिबद्धता जनाएको छ।





