भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय राजनीतिक भेटवार्तामा केन्द्रित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएको छ। भ्रमणका दौरान नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध आयाममा छलफल भइरहेको जनाइएको छ।
भ्रमण तालिकाअनुसार मंगलबार भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ। त्यस्तै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा भेट हुने तय भएको बताइएको छ। समय अनुकूल भए बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत शिष्टाचार भेट हुने अपेक्षा गरिएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीच संवाद र सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान हुने जनाइएको छ।
यसअघि मंगलबार नै लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनसँग भेट गरेका थिए। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोगका सम्भावित क्षेत्रहरूको पहिचान गर्ने तथा राजनीतिक संवादलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
पाँच दिने औपचारिक भारत भ्रमणमा रहेको रास्वपा टोलीले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटका अतिरिक्त धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ। साथै, भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया तथा भेटघाट गर्ने तयारीसमेत गरिएको जनाइएको छ।
लामिछानेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध र समसामयिक राजनीतिक सन्दर्भका कारण विशेष चासोका साथ हेरिएको छ।
