संसदभित्र राष्ट्रहितविपरीत अभिव्यक्ति आएको भन्दै सुदन किराँतीको असन्तुष्टि

उदयपुर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसदभित्र भएका केही अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र जनविश्वासमाथि चोट पुगेको बताएका छन्। उनले देशको सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सबै राजनीतिक दल तथा नेताहरू जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

मंगलबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा श्रम संस्कृति पार्टी नगर समितिले आयोजना गरेको श्रमदान तथा संगठन विस्तार कार्यक्रममा बोल्दै किराँतीले संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति आउनु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे।

उनले जनताले विश्वास गरेका नयाँ तथा युवा नेतृत्वबाट समेत यस्ता अभिव्यक्ति आउनु दुःखद भएको उल्लेख गर्दै राष्ट्रिय विषयमा सबै पक्ष संवेदनशील हुनुपर्ने बताए। उनका अनुसार यस्ता घटनाले आम नागरिकमा निराशा बढाउने र राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनाउने खतरा हुन्छ।

कार्यक्रममा उनले वर्तमान सरकारले प्रस्तुत गरेको बजेटप्रति पनि असन्तुष्टि जनाए। विद्युत् उपभोगमा थप कर लगाउने व्यवस्थाले गरिब तथा मध्यम वर्गका नागरिकमाथि अतिरिक्त आर्थिक भार पर्ने उनको भनाइ थियो। सरकारले जनताको जीवनस्तर सुधारमा केन्द्रित नीति ल्याउनुपर्नेमा उनले जोड दिए।

किराँतीले पुराना र नयाँ दुवै राजनीतिक शक्तिहरू जनअपेक्षाअनुसार परिणाम दिन संघर्षरत रहेको उल्लेख गर्दै श्रम, उत्पादन र सामाजिक उत्तरदायित्वमा आधारित राजनीतिक संस्कृतिको आवश्यकता औँल्याए। उनले श्रम संस्कृति पार्टीले यही अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको बताए।

उनले राज्य तथा राजनीतिक कार्यक्रममा हुने अनावश्यक खर्च कटौती गर्नुपर्ने धारणा राख्दै खादा, माला र औपचारिक सम्मानका नाममा हुने खर्चलाई सामाजिक हितका क्षेत्रमा प्रयोग गर्न सकिने बताए।

कार्यक्रममा श्रम संस्कृति पार्टी नगर समितिका अध्यक्ष मनकुमार राईले विभिन्न दल परित्याग गरी स्थानीय नागरिकहरू पार्टीमा आबद्ध भएको जानकारी दिएका थिए। नवप्रवेशीलाई स्वागत गर्दै किराँतीले श्रम, उत्पादन र राष्ट्रिय स्वाभिमानको अभियानमा सहभागी हुन आग्रह गरेका थिए।

श्रमदान, संगठन विस्तार तथा राजनीतिक अन्तरक्रियासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *