चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, बेइजिङमा उच्चस्तरीय भेटवार्ता ,बीआरआईदेखि सीमा विवादसम्म छलफल गर्ने

काठमाडौं । भारत भ्रमण लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। आगामी जेठ ३१ गतेदेखि सुरु हुने भ्रमणका क्रममा उनले चीनका उच्च अधिकारीहरूसँग नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना, सीमा सम्बन्धी विषय तथा लगानी सहकार्यबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनालको भ्रमणको तयारी चीनस्थित नेपाली दूतावासले सुरु गरिसकेको छ। परराष्ट्र मन्त्रालयले औपचारिक घोषणा नगरे पनि दूतावासले जेठ ३१ गते साँझ बेइजिङमा रहेका नेपाली समुदायसँग मन्त्री खनालको अन्तरक्रिया कार्यक्रम तय गरिसकेको छ।

भ्रमणको दोस्रो दिन असार १ गते उनले चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिहरूसँग शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यका सम्भावनाबारे छलफल गर्नेछन्। त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग राजनीतिक भेटवार्ताको कार्यक्रम रहेको छ।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, बीआरआईअन्तर्गत सहमति भएका परियोजनाको कार्यान्वयन तथा आगामी सहकार्यका विषय प्रमुख एजेन्डाका रूपमा रहनेछन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पूर्वाधार, यातायात, ऊर्जा, शिक्षा र औद्योगिक परियोजनासम्बन्धी सहमतिका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै मन्त्री खनालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित विषय पनि चिनियाँ समकक्षीसँग उठाउने तयारी गरेका छन्। यसअघि नेपालले उक्त विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइसकेको छ।

चिनियाँ पक्षले नेपालको परराष्ट्र नीतिको सन्तुलन, बीआरआई परियोजनाप्रतिको प्रतिबद्धता तथा आगामी सहकार्यका दिशाबारे विशेष चासो राखेको बताइएको छ। नेपाल सरकारले आफूलाई दुई छिमेकीबीच ‘बफर जोन’ नभई ‘भाइब्रेन्ट ब्रिज’का रूपमा विकास गर्ने नीति अघि सारेको सन्दर्भमा पनि यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

परराष्ट्रमन्त्री खनाल यसअघि जेठ २२ गते भारत भ्रमणमा गई भारतीय विदेशमन्त्री एस जयशंकरसहित विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेर जेठ २४ गते स्वदेश फर्किएका थिए। चीन भ्रमण सम्पन्न गरी उनी असार ३ गते नेपाल फर्किने कार्यतालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *