मनसुनजन्य विपद् सामना गर्न नेपाली सेनाको व्यापक तयारी, सातै प्रदेशमा उद्धार टोली र हवाई साधन स्ट्यान्डबाई
काठमाडौं । मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि नेपाली सेनाले यस वर्ष विस्तृत पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। विगतका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा तयार गरिएको योजनाअनुसार सेना देशभर उद्धार टोली, हवाई साधन, बेलिब्रिज, स्वास्थ्य सेवा तथा राहत सामग्री तयारी अवस्थामा राखेर मनसुनको सामना गर्न जुटेको हो।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँगको समन्वयलाई प्राथमिकतामा राखिएको छ।
सेनाले जिल्लास्थित गण तथा गुल्महरूमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक फौज तयारी अवस्थामा राखेको जनाएको छ। साथै, सातै प्रदेशका पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा शीघ्र उद्धारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टरसहित हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक–एक हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मौसम पूर्वानुमानका आधारमा थप दुई हवाई साधन उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको छ।
राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक–एक सेट बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। साथै, तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।
विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोली गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ, जसलाई हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न सकिनेछ।
मनसुनजन्य विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण र औषधि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। प्रत्येक पृतनामा खाद्यान्न, औषधि तथा राहत सामग्रीसमेत व्यवस्थापन गरिएको छ।
आवश्यक परेमा पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचना मर्मतका लागि सैनिक इन्जिनियरिङ विभागका ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरसहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसैबीच, सेनाको नेतृत्वमा वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत विपद् अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो। नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा सम्पन्न उक्त अभ्यासमार्फत विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र समन्वय सुदृढीकरणमा जोड दिइएको सेनाले जनाएको छ।
स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको उल्लेख गर्दै सैनिक प्रवक्ता बस्नेतले संयुक्त अभ्यास, समन्वय र योजनाबद्ध तयारीमार्फत मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताए।
