एसियन हाइवेमा आधुनिक पुलको लहर, रतुवा–लोहन्द्रा–बक्राहा पुल निर्माण धमाधम

झापा । एसियन हाइवेअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक योजनामा पर्ने झापा र मोरङका तीन ठूला नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका पुल निर्माण तीव्र गतिमा अघि बढेको छ। पूर्व–पश्चिम यातायातलाई थप सुरक्षित, द्रुत र आकर्षक बनाउने लक्ष्यसहित निर्माण भइरहेका रतुवा, लोहन्द्रा र बक्राहा नदीका पुलहरूमा हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार पाँचौँ प्याकेजअन्तर्गत निर्माण भइरहेका यी पुलहरू पूर्वी नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि हुनेछन्। विशेषगरी झापाको रतुवा नदीमा निर्माण भइरहेको ५८५ मिटर लामो पुललाई ‘सिग्नेचर ब्रिज’का रूपमा विकास गरिँदैछ, जसले आधुनिक प्रविधिसहित आकर्षक संरचनाको नमूना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म फैलिएको ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। तीमध्ये झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्ये रतुवा, लोहन्द्रा र बक्राहा नदीका पुल सबैभन्दा ठूला र प्राविधिक दृष्टिले जटिल मानिएका छन्।

आयोजनाअनुसार रतुवा नदीमा ५८५ मिटर, मोरङको लोहन्द्रा नदीमा ३८५ मिटर तथा बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ। तीनवटै पुलमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिको प्रयोग गरिनेछ, जसले पुललाई बलियो मात्र नभई आकर्षक समेत बनाउने आयोजना प्रमुख प्रजापतिले बताए।

रतुवा नदीमा बन्ने पुलमध्ये २६४ मिटर भाग ‘स्टिल आर्क’ संरचनामा आधारित हुनेछ भने बाँकी भाग कङ्क्रिट संरचनाको हुनेछ। यस पुलमा तीनवटा मुख्य स्पान रहनेछन्। यस्तै, लोहन्द्रा नदीको पुलमा ८०–८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन् भने बक्राहा नदीको पुलमा पनि दुईवटा मुख्य स्पान रहने जनाइएको छ।

तीनवटै पुल निर्माणको ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले करिब पाँच अर्ब रुपैयाँमा लिएको हो। पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनीले प्रत्यक्ष रूपमा गरिरहेको छ भने अन्य सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीमार्फत अघि बढाइएको आयोजनाले जनाएको छ।

हाल मोरङको उर्लाबारी क्षेत्रमा पुलका लागि आवश्यक स्टिलका पाटपुर्जा फ्याब्रिकेसन तथा जडान कार्य भइरहेको छ। त्यहाँ तयार गरिएका संरचनालाई निर्माणस्थलमा ल्याएर मुख्य पुलमा जडान गर्ने काम धमाधम भइरहेको छ।

वर्षायाममा पनि निर्माणकार्य प्रभावित नहोस् भन्ने उद्देश्यले प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ। अहिले रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर काम भइरहेको छ। आयोजनाका अनुसार रतुवामा तीनवटा स्पानको काम सम्पन्न भइसकेको छ भने अर्को ‘आर्क’ संरचना थप्ने तयारी भइरहेको छ।

रतुवाको निर्माण अन्तिम चरणमा पुगेपछि लोहन्द्रा र बक्राहा पुल निर्माणलाई थप तीव्रता दिइने आयोजना प्रमुख प्रजापतिले बताए। उनका अनुसार रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्क विस्तार गर्ने काम भइरहेको छ र स्टिल संरचनातर्फको अधिकांश काम सम्पन्न भइसकेको छ। अब मुख्य रूपमा कङ्क्रिट ढलान तथा फिनिसिङका काम बाँकी रहेकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्झौताअनुसार पुल निर्माणको काम २०८३ माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि केही प्राविधिक जटिलताका कारण थप पाँच महिना समय लाग्न सक्ने आयोजनाको अनुमान छ। यद्यपि निर्माणको गति सन्तोषजनक रहेको र कामलाई निरन्तरता दिइएकाले निर्धारित अवधिभित्रै अधिकांश संरचना सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *