विद्यालयकै लेटरप्याडबाट निजी जग्गा बिक्री, लालपुर्जा भने अझै फुयालकै नाममा
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालय ले आफ्नो लेटरप्याड प्रयोग गरेरै व्यक्तिको निजी जग्गा बिक्री तथा नामसारी गरेको तथ्य सार्वजनिक भएको छ । कानुनी रूपमा मालपोत कार्यालयले मात्रै गर्न सक्ने काम विद्यालयले गरेको पाइएको हो । अझ अचम्म त के भने, विद्यालयले बिक्री गरेको भनिएको जग्गा आफ्नै नाममा नभई स्थानीय रोहितराम फुयालको नाममा रहेको नम्बरी जग्गा हो ।
६२ वर्षीय रोहितराम फुयालसँग अहिले पनि उक्त जग्गाको सक्कल लालपुर्जा सुरक्षित छ । उनले हालसम्म सरकारलाई नियमित रूपमा तिरोसमेत तिरिरहेका छन् । तर, उनको १४ कठ्ठा ३ धुर क्षेत्रफलको जग्गामा विद्यालयले बनाइदिएको कागजका आधारमा १४ परिवारले घर–टहरा बनाएर बसोबास गरिरहेका छन् ।
प्राप्त कागजातअनुसार विद्यालयले आफूलाई जग्गाधनीसरह प्रस्तुत गर्दै विभिन्न व्यक्तिलाई जग्गा बाँडफाँट गरेको र नामसारी गरिदिएको देखिन्छ । वि।सं। २०५२ माघ १५ गते विद्यालयले जारी गरेको एक पत्रमा ‘जग्गा नामसारी गरी दिएको’ स्पष्ट उल्लेख गरिएको छ । उक्त पत्रमा लक्षुमण श्रेष्ठको नाममा जग्गा नामसारी गरिदिएको भन्दै विद्यालयका तत्कालीन प्रधानाध्यापकको हस्ताक्षर र छापसमेत रहेको छ । नामसारी बापत विद्यालयले १०० रुपैयाँ शुल्क लिएको विवरण पनि कागजातमा भेटिएको छ ।
स्थानीयका अनुसार विद्यालय र तत्कालीन बजार समितिले दिएको कागजकै आधारमा अहिले धेरै परिवारले उक्त जग्गामा दाबी गर्दै आएका छन् । २०६० सालमा तयार गरिएको अर्को कागजमा पनि विद्यालय वा बजार समितिबाट घडेरी खरिद गरेको उल्लेख छ । तर, सम्बन्धित जग्गाधनीको स्वीकृतिबिनै निजी जग्गा अरूलाई भोगचलन गर्न दिनु र त्यसको सिफारिस गर्नु कानुनी रूपमा गम्भीर प्रश्नको विषय बनेको छ ।
यो विवादको जरो भने वि।सं। २०३९ सालसम्म पुग्छ । रोहितरामका बुबा स्वर्गीय नरपति फुयालको नाममा कित्ता नम्बर ६८१ अन्तर्गत उक्त जग्गा रहेको थियो । त्यसबेला तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च डिएन राई र वडा अध्यक्ष प्रेमप्रकाश पराजुलीले हाटबजार सञ्चालनका लागि जग्गा आवश्यक परेको भन्दै नरपतिलाई जग्गा पञ्चायतलाई छोड्न दबाब दिएका थिए । बदलामा विद्यालयमा पियनको जागिर र अन्यत्र दुई बिघा ऐलानी जग्गा दिने आश्वासन दिइएको परिवारको दाबी छ ।
जागिरको आशा र स्थानीय शक्तिकेन्द्रको दबाबमा नरपतिले एउटा काँचो कागजमा सहिछाप गरे । उनले विद्यालयमा जागिर त पाए, तर वाचा गरिएको जग्गा भने कहिल्यै पाएनन् । त्यसपछि पञ्चायतले उक्त जग्गा गाउँ पञ्चायत र विद्यालयको व्यवस्थापनमा राखेको र पछि विद्यालयमार्फत विभिन्न व्यक्तिलाई वितरण गरिएको आरोप छ ।
हाल उक्त जग्गामा चन्द्रकला पौडेल, रत्नबहादुर पौडेल, लक्ष्मण श्रेष्ठ, कृष्णकुमारी कार्कीलगायत १४ परिवार बसोबास गर्दै आएका छन् । उनीहरूसँग विद्यालय वा तत्कालीन पञ्चायतले दिएका कागज छन्, तर कानुनी लालपुर्जा भने छैन ।
यता, जग्गाधनी रोहितराम फुयाल भने विगत चार वर्षदेखि दुवै मृगौला फेल भएर उपचाररत छन् । उनले वि।सं। २०८१ मंसिरसम्मको तिरो तिरिसकेको प्रमाणसमेत सुरक्षित राखेका छन् । “मेरो लालपुर्जा मेरै नाममा छ, तिरो मैले तिरिरहेको छु । तर, मेरो जग्गामा अरूलाई राखेर गाउँपालिकाले बजेट खर्च गर्छ । यो अन्याय हो,” उनले गुनासो गरे ।
न्यायको माग गर्दै रोहितरामका छोरा सेन्जाम फुयालले कानेपोखरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । सोही निवेदनपछि गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले सर्वपक्षीय छलफलसमेत आयोजना गरेकी थिइन् । छलफलमा विद्यालयले जग्गा बिक्री गरेको तथ्य भेटिएको अध्यक्ष इङ्नामले स्वीकार गरिन् । “जग्गा खाली गराउन निवेदन आएको छ । कानुनी रूपमा समाधान खोज्ने प्रयास भइरहेको छ,” उनले भनिन् ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले पनि जग्गा कानुनी रूपमा फुयालकै नाममा रहेको स्वीकार गरेकी छन् । तर, पालिकाभित्रै यस विषयमा मत विभाजित देखिएको छ । उपाध्यक्ष भोला अधिकारीले न्यायिक समितिमा परेको निवेदन आफूले नहेर्ने भन्दै अध्यक्षसमक्ष पठाइदिएका थिए ।
विद्यालयका वर्तमान प्रधानाध्यापक प्रमोद निरौलाले भने अनुसन्धान चलिरहेको भन्दै तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । “सम्बन्धित निकायले जवाफ मागेको छ । अहिले केही बोल्दिन,” उनले भने ।
स्थानीय तहले काफ्ले लगायत तीन दर्जनभन्दा बढी सरोकारवालासहित छलफल गरे पनि हालसम्म कुनै ठोस निर्णय हुन सकेको छैन । देशभर सार्वजनिक तथा अतिक्रमित जग्गा खाली गराउने अभियान चलिरहेका बेला मोरङका रोहितराम फुयाल परिवारले पनि आफ्नो नम्बरी जग्गा फिर्ता पाउने आशा राखेका छन् ।





