सूचना प्रविधिको सदुपयोग गर्दै अभिभावकसँग प्रत्यक्ष जोडिँदै हिमालय इंग्लिस स्कुल
एलएन गच्छदार
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इंग्लिस स्कुल ले सूचना तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले ह्वाट्सएप एपमार्फत सूचना आदान–प्रदानलाई व्यवस्थित बनाएको छ।
विद्यालयले सञ्चालनमा ल्याएको उक्त प्रणालीमार्फत विद्यार्थीले विद्यालयमा पाएको गृहकार्य, कक्षागत गतिविधि, परीक्षा, अतिरिक्त क्रियाकलाप तथा आवश्यक सूचनाहरू सिधै अभिभावकको मोबाइलमा पुग्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ। यसबाट अभिभावकले आफ्ना बालबालिकाको दैनिक शैक्षिक गतिविधिबारे सहजै जानकारी पाउने भएका छन्।
हालै आयोजित अभिभावकसँगको अन्तरक्रिया तथा बैठक कार्यक्रममा विद्यालय प्रशासनले डिजिटल माध्यमको प्रयोगले शिक्षण सिकाइलाई थप प्रभावकारी बनाएको उल्लेख गरेको थियो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनाल ले प्रविधिको सही उपयोगले विद्यालय र अभिभावकबीचको दूरी घटाएको बताए।
उनले भने, “अब विद्यार्थीले गृहकार्य भयो कि भएन, विद्यालयमा के–कस्ता गतिविधि भए भन्ने कुरा लुकाउन वा अभिभावकलाई झुक्याउन सक्ने अवस्था रहँदैन। अभिभावकले आफ्नै मोबाइलबाट सबै जानकारी पाउनुहुन्छ, जसले विद्यार्थीलाई थप जिम्मेवार बनाउनेछ।”
विद्यालयका कोर्डिनेटर सुजिताले पनि ह्वाट्सएपमार्फत सूचना प्रवाह हुँदा अभिभावकसँग तत्काल समन्वय गर्न सहज भएको बताए। उनका अनुसार कुनै आकस्मिक सूचना, परीक्षा तालिका, विद्यालयका कार्यक्रम वा विद्यार्थीको प्रगति विवरण तुरुन्तै अभिभावकसम्म पुर्याउन सकिने भएकाले यो प्रणाली प्रभावकारी बनेको छ।
कार्यक्रममा सहभागी अभिभावक जोशाना घिमिरेले समेत विद्यालयले अपनाएको डिजिटल प्रणालीप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले मोबाइलमै विद्यालयसम्बन्धी जानकारी प्राप्त हुँदा आफ्ना बालबालिकाको पढाइ र व्यवहारप्रति थप चासो दिन सहज भएको बताएका थिए।
विद्यालयले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा र अभिभावकसँगको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।
