संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
काठमाडाैं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले नेपालखबरलाई जानकारी दिए।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।
घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।
