लागुऔषधविरुद्धको महाअभियानमा नेपाल प्रहरीको सशक्त सन्देश
एलएन गच्छदार
पछिल्लो समय लागुऔषध दुर्व्यसन युवापुस्तामाझ चिन्ताको विषय बन्दै गएको छ। बदलिँदो सामाजिक परिवेश, गलत संगत, बेरोजगारी तथा लागुऔषधको सहज पहुँचका कारण युवाहरू कुलततर्फ आकर्षित हुने क्रम बढ्दै गएको सरोकारवालाहरू बताउँछन्। यही चुनौतीलाई मध्यनजर गर्दै मोरङको केराबारी गाउँपालिकामा “Say Yes To Life, No To Drugs” भन्ने मूल नाराका साथ केराबारी गाउँपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा सञ्चालन गरिएको लागुऔषध दुर्व्यसनविरुद्धको महाअभियान–२०८३ अन्तर्गत वृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मगर मिरिङचिङ प्रमुख अतिथि तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला विशेष अतिथिका रूपमा सहभागी भएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कबित कटवाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमले लागुऔषध नियन्त्रणका लागि सामूहिक पहलको आवश्यकता औँल्याएको छ।
युवापुस्तामाथि बढ्दो जोखिम
ग्रामिण तथा शहरी क्षेत्रको संगमका रूपमा रहेको केराबारीमा पछिल्ला वर्षहरूमा लागुऔषध प्रयोगका घटनाहरू बढ्दै गएको प्रहरी तथा स्थानीय समुदायको अनुभव छ। विद्यालय तथा कलेज उमेर समूहका युवाहरू जोखिममा रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालको प्रभाव, साथीहरूको दबाब तथा गलत जीवनशैलीले युवालाई कुलततर्फ धकेल्ने गरेको बताइन्छ।
कार्यक्रममा नेपाल प्रहरीको टोलीले जनचेतनामूलक गीत तथा आकर्षक नृत्य प्रस्तुत गर्दै लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावलाई कलात्मक रूपमा चित्रण गरेको थियो। सन्देशमूलक प्रस्तुतिले सहभागीहरूलाई भावुक र सचेत दुवै बनाएको थियो।
नियन्त्रणका लागि सबैको साझा दायित्व
प्रमुख अतिथि सुमन मगर मिरिङचिङले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय सरकार, प्रहरी प्रशासन, शैक्षिक संस्था, अभिभावक तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले युवाहरूलाई सचेत, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्दै यस्ता अभियानले सकारात्मक सामाजिक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका वक्ताहरूले पनि लागुऔषध नियन्त्रण सरकारी निकायको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको धारणा राखे। उनीहरूका अनुसार युवालाई खेलकुद, कला, संगीत, सीपमूलक तालिम तथा उत्पादनमूलक गतिविधिमा संलग्न गराउन सके दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गर्न सकिन्छ।
प्रतिबद्धता पत्रमा हस्ताक्षर
कार्यक्रमकै क्रममा “लागुऔषध विरुद्धको महाअभियान–२०८३” अन्तर्गत सरोकारवाला निकाय तथा सहभागीहरूले लागुऔषधमुक्त समाज निर्माणका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। प्रतिबद्धता पत्रमार्फत लागुऔषधको उत्पादन, ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि सूचना आदानप्रदान, निगरानी र समन्वयलाई सुदृढ बनाउने अठोट व्यक्त गरिएको छ।
साथै विद्यालय, समुदाय तथा सार्वजनिक स्थलहरूमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कुलतमा फसेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श, उपचार तथा पुनःस्थापनामा सहयोग गर्ने तथा युवालाई सकारात्मक जीवनशैलीतर्फ आकर्षित गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
अभियानलाई निरन्तरता
आयोजकका अनुसार महाअभियानलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रतिबद्धता अभियान तथा सामुदायिक गतिविधिमार्फत निरन्तर अघि बढाइनेछ। केराबारीमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदायस्तरबाट सुरु भएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।
लागुऔषध दुर्व्यसन आज केराबारी मात्र होइन, समग्र समाजकै चुनौती बनेको छ। यसको समाधान कानुनी कारबाहीबाट मात्र सम्भव छैन। परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य, युवामा सकारात्मक सोचको विकास तथा निरन्तर जनचेतना नै यसको दीर्घकालीन समाधानको आधार हो। केराबारीबाट सुरु भएको यो महाअभियानले लागुऔषधमुक्त, सुरक्षित र जिम्मेवार समाज निर्माणको अभियानलाई थप बल पुर्याउने विश्वास गर्न सकिन्छ।




