उर्लाबारी–६ बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा

मोरङको उर्लाबारी नगरपालिका–६ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित शुक्रबार आयोजित विशेष समारोहमा नगर प्रमुख गंगाप्रसाद खरेलले वडालाई बालमैत्री, बालश्रममुक्त, हिंसारहित तथा बालविवाह निषेधित वडा घोषणा गरेका हुन्।

नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ अनुसार निर्धारण गरिएका ५१ सूचकमध्ये आवश्यक मापदण्ड पूरा गरेपछि वडा नम्बर ६ लाई बालमैत्री घोषणा गरिएको हो। निर्देशिकाअनुसार ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने व्यवस्था छ। यसअघि वडा नम्बर १ घोषणा भइसकेकाले वडा नम्बर ६ उर्लाबारीको दोस्रो बालमैत्री वडा बनेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले बालमैत्री वडा घोषणा केवल औपचारिकतामा सीमित नहुने र यसको प्रभावकारी कार्यान्वयनलाई नगरपालिकाले उच्च प्राथमिकता दिने बताए। उनले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, शोषण, विभेद तथा दुर्व्यवहार अन्त्य गरी सभ्य, सुन्दर र समृद्ध उर्लाबारी निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले बाल अधिकार संरक्षणका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै बालबालिकालाई सुरक्षित, सम्मानजनक र सकारात्मक वातावरणमा हुर्काउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे। बालबालिकाका सामान्य गल्तीलाई ठूलो अपराधका रूपमा नलिन, उनीहरूलाई श्रमशोषणबाट जोगाउन तथा मोबाइल फोनको अत्यधिक प्रयोगले स्वास्थ्यमा पार्ने नकारात्मक असरप्रति अभिभावक सचेत हुनुपर्ने उनको भनाइ थियो।

नगर उपप्रमुख मीना खतिवडा पौडेलले बालमैत्री स्थानीय शासनलाई दिगो र प्रभावकारी बनाउन नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले हालसम्म नगरका चार वटा वडा बालमैत्री घोषणा भइसकेको जानकारी दिँदै बाँकी वडाहरूलाई पनि आर्थिक वर्ष २०८३ भित्र बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको बताइन्।

वडा अध्यक्ष चिन्तामणि पौडेलले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका अधिकांश सूचक पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, योजना, कार्यक्रम तथा बजेटमा समावेश गरिएको जानकारी दिए। बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण र सहभागितालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले अन्य वडाहरूलाई समेत बालमैत्री घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिइन्। उनले बाल अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित वातावरण सुनिश्चित गर्न स्थानीय सरकार सक्रिय रहेको बताइन्।

सो अवसरमा बालमैत्री वडा घोषणा अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने बाल सञ्जाल, शिक्षासेवी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, महिला समूह तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला विकास संस्था, आमा समूह, टोल विकास संस्था, सामुदायिक विकास मञ्चलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। बाल अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सहभागिताको सुनिश्चितताका लागि बालमैत्री वडा अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *