‘फर्स्ट SIEBS किड्स आइकन–२०८३’ सहित स्वागत, दीक्षान्त र शैक्षिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

एल.एन. गच्छदार
सुन्दरहरैँचा, मोरङ

मोरङको सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्ग्लिस बोर्डिङ स्कुल (SIEBS) मा ‘फर्स्ट SIEBS किड्स आइकन–२०८३’, नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम, दीक्षान्त समारोह तथा शैक्षिक उत्कृष्टता सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको स्वागत, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति, किड्स आइकन प्रतियोगिता, दीक्षान्त समारोह तथा शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गीत, कविता तथा विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रमअन्तर्गत कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूका साथै अनुशासन, नियमितता र समग्र शैक्षिक उपलब्धिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता, अनुशासन र सिकाइप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल खम्बसिंह बस्नेतले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सिर्जनशीलता अभिवृद्धिमा विशेष जोड दिँदै आएको बताए। उनले भने, “पढाइमा मात्र उत्कृष्ट हुनु पर्याप्त हुँदैन, विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन, नैतिक मूल्य र नेतृत्व क्षमताको विकास पनि उत्तिकै आवश्यक छ। यस्ता कार्यक्रमहरूले बालबालिकामा रहेको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

उनले आगामी दिनमा पनि विद्यार्थीकेन्द्रित, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आगामी दिनमा थप उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरित गर्नुका साथै अन्य विद्यार्थीहरूलाई पनि सकारात्मक प्रतिस्पर्धा र निरन्तर प्रयासतर्फ अग्रसर हुन उत्साहित बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले सम्मानित सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने अभिभावक, शिक्षक तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गरेको छ।

“सफलता संयोगले प्राप्त हुँदैन, निरन्तर मेहनत, अनुशासन र दृढ सङ्कल्पले प्राप्त हुन्छ” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *