कांग्रेस कसैको दाइजो होइन, कसैको पेवा होइन : केदार कार्की
‘परिपक्व नेतृत्व नहुँदा निर्णय बदलिरहन्छ, कालान्तरमा पार्टी एक भएर जान्छ’
सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा नेपाली कांग्रेस वडा कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, नेतृत्वको कार्यशैली र पार्टीको आधिकारिक पहिचानबारे चर्चा भएको छ।
देउवा पक्षधर वडा सभापति ओम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य केदार कार्कीले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले कांग्रेसको नेतृत्व परिपक्व व्यक्तिको हातमा हुनुपर्ने बताउँदै अपरिपक्व नेतृत्वका कारण पार्टीभित्र निर्णयहरू बदलिइरहने र एकतामा समस्या आउने धारणा राखे। उनले वर्तमान विवाद लामो समयसम्म नरहने र कालान्तरमा पार्टी एक भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
“परिपक्व व्यक्तिको हातमा नेतृत्व गएन भने निर्णय बदलिरहन्छ भन्दै आएको थिएँ, अहिले त्यस्तै भएको छ। अपरिपक्व व्यक्तिको हातमा नेतृत्व पुगेकाले पार्टी एक हुन नसकेको हो। कालान्तरमा पार्टी एक भएर जान्छ,” कार्कीले भने।
उनले आफू कुनै व्यक्तिको पक्षमा नरहेको स्पष्ट पार्दै आफू नेपाली कांग्रेसको मान्छे भएको बताए।
‘कांग्रेस कसैको दाइजो होइन, कसैको पेवा होइन’
कार्कीले नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख कुनै व्यक्तिको निजी सम्पत्ति नभएको बताए। उनले पार्टीको पहिचान र चुनाव चिह्नमाथि व्यक्तिगत स्वामित्वको दाबी गर्न नहुने धारणा राखे।
“चारतारे झण्डा र चुनाव चिह्न कसैलाई लैजा भनेको पनि छैन र खोसेको पनि छैन। कांग्रेस कसैको दाइजो होइन, कसैको पेवा होइन,” उनले भने।
उनले कांग्रेसको आधिकारिक पहिचानबारे पार्टीभित्रै विभिन्न धारणा सार्वजनिक भइरहेको उल्लेख गर्दै आफूहरू पनि चारतारे झण्डा र रुख चुनाव चिह्नसँगै रहेको बताए।
कार्कीका अनुसार शेरबहादुर देउवाले आफू नै कांग्रेसको सभापति भएको र चारतारे झण्डा तथा चुनाव चिह्न रुख आफ्नो पक्षको भएको दाबी गरेका छन्। उनले यस विषयमा आफ्नो धारणा स्पष्ट रहेको बताउँदै आफू नेपाली कांग्रेसकै कार्यकर्ता भएको दोहोर्याए।
‘हामी अर्को पार्टीका होइनौँ, एउटै कांग्रेस हौँ’
कार्यक्रममा सुन्दरहरैंचा–२ का वडा अध्यक्ष विवस प्रधानले आफूहरू कुनै अर्को पार्टीका नभई एउटै नेपाली कांग्रेसका कार्यकर्ता भएको बताए। “हामी अरू पार्टीका होइनौँ, हामी एउटै कांग्रेस हौँ। जहाँ रुख र चारतारे झण्डा छ, हामी त्यहीँ छौँ,” प्रधानले भने। उनले पार्टी नेतृत्वका कमजोरीमाथि प्रश्न उठाउनु संगठनविरुद्धको गतिविधि नभई सुधारका लागि गरिएको खबरदारी भएको स्पष्ट पारे।
त्यस्तै, वडा सभापति ओम नारायण चौधरीले स्थानीय तहमा कांग्रेसको संगठनलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे। नेतृ पार्वती गच्छदारले पार्टीभित्रको विभाजनले बाहिरका शक्तिलाई फाइदा पुग्ने बताउँदै वडामा देखिएको दुई सभापतिको अवस्थालाई समन्वय र सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राखिन्।
नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र मोरङ–६ (क) का पूर्व सभापति दीपक भगत र स्थानीय नेता सुरेन्द्र बस्नेतले पनि व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर सबैलाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसभित्रको विवाद संवाद, सहकार्य र आपसी समझदारीबाट समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्ने बताएका थिए।




