नेपाल–भारत सीमा स्तम्भ मर्मत र पुनर्निर्माणलाई तीव्रता दिने सहमति

नेपाल र भारतका सीमा प्रशासन तथा प्राविधिक अधिकारीहरूले पूर्वी क्षेत्रका सीमास्तम्भको मर्मत, संरक्षण र पुनर्निर्माण कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने सहमति गरेका छन्। झापाको बिर्तामोडमा सम्पन्न संयुक्त बैठकले सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक कार्यको समीक्षा गर्दै बाँकी कामलाई समयमै सम्पन्न गर्ने निर्णय गरेको हो।

शुक्रबार बिर्तामोडमा आयोजित नेपाल–भारत संयुक्त बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमावर्ती क्षेत्रमा पछिल्लो तीन महिनामा सम्पन्न भएका प्राविधिक कार्यको समीक्षा गरिएको थियो। फिल्डमा खटिएका संयुक्त टोलीहरूले सीमास्तम्भको पहिचान, मर्मत तथा पुनर्निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए।

नापी विभाग सीमा शाखाका प्रमुख नापी अधिकृत हरेराम यादवले सीमास्तम्भको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउन दुवै देशबीच नियमित रूपमा यस्ता बैठक हुँदै आएको बताए। उनका अनुसार बैठकमा सम्पन्न कार्यको मूल्याङ्कन गर्दै बाँकी कामलाई निर्धारित समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

बिर्तामोडस्थित किङ्सबेरी होटलमा आयोजित बैठक नापी विभाग सीमा शाखा, काठमाडौंको समन्वयमा सम्पन्न भएको हो। बैठकलाई नेपाल–भारत द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको नियमित सर्भे तथा समन्वय बैठकका रूपमा लिइएको छ।

बैठकमा नेपालतर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईसहित सुरक्षा निकाय, नापी, वन तथा अनुसन्धान निकायका प्रतिनिधिहरू सहभागी थिए।

भारतीय पक्षबाट बिहारस्थित किशनगन्ज जिल्ला का डिस्ट्रिक्ट मजिस्ट्रेट विशाल राज, सशस्त्र सीमा बल (SSB) का विभिन्न बटालियनका कमान्डेन्ट तथा सर्वेक्षणसम्बन्धी अधिकारीहरूको सहभागिता रहेको थियो।

दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, व्यवस्थापन तथा सीमांकनसम्बन्धी प्राविधिक विषयमा निरन्तर समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा देखिने प्राविधिक समस्या समाधान र सीमास्तम्भको अवस्था अद्यावधिक राख्न यस्ता संयुक्त बैठक प्रभावकारी माध्यम बन्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *