बिर्तामोडमा आजदेखि रोजगार मेला, २५ भन्दा बढी संस्थाद्वारा रोजगारीका अवसर प्रस्तुत गरिने

रोजगारको खोजीमा रहेका युवादेखि वैदेशिक रोजगारीबाट फर्किएका नागरिकसम्मलाई लक्षित गर्दै झापाको बिर्तामोडमा आजदेखि दुईदिने रोजगार मेला सुरु हुँदैछ। बिर्तामोड नगरपालिकाको आयोजनामा हुने मेलामा विभिन्न कम्पनी, उद्योग तथा संस्थाले रोजगारी र सीप विकासका अवसर उपलब्ध गराउने भएका छन्।बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मेलाका सहजकर्ता सेवक बजगाईंका अनुसार शुक्रबार साँझसम्म २५ वटा स्टल बुकिङ भइसकेका छन् भने थप केही रोजगारदाता संस्था सहभागी हुन सक्ने सम्भावना रहेको छ।

मेलामा सुरक्षा, बीमा, प्राविधिक शिक्षा, उद्योग, स्वास्थ्य, कृषि, सूचना प्रविधि, निर्माण तथा सेवा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था र कम्पनीले सहभागिता जनाउँदै रोजगारीका अवसरबारे जानकारी दिनेछन्। साथै रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षसमेत सञ्चालन गरिनेछ।

मेलासँगै उद्योगी–व्यवसायी र रोजगार खोज्ने व्यक्तिबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ। तयारीको अवस्थाबारे शुक्रबार नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र वरिष्ठ योजना अधिकृत जय तम्सिनाले अनुगमन गरेका थिए।

नगर प्रमुख पवित्रा महतारा प्रसाईंले रोजगारको खोजीमा रहेका नागरिकलाई मेलामा सहभागी भई उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेकी छन्। उनका अनुसार मेला शनिबार बिहान ११ बजेदेखि सुरु हुनेछ।

नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकलाई लक्षित गरी आयोजना गरिएको मेलाबाट विशेषगरी अध्ययन पूरा गरेका विद्यार्थी, सीपयुक्त युवा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा अतिरिक्त आम्दानीको अवसर खोजिरहेका व्यक्तिले प्रत्यक्ष लाभ लिन सक्नेछन्। नगरपालिकाले रोजगार मेलामार्फत स्थानीयस्तरमा रोजगारीको पहुँच विस्तार हुनुका साथै सयौँ व्यक्तिले नयाँ अवसर प्राप्त गर्ने अपेक्षा गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *