चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ : विजेतालाई ४ लाख, उपविजेतालाई २ लाख पुरस्कार
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजना हुन लागेको चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ को विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्। पुरस्कार रकममा प्रचलित नियमअनुसार करकट्टी समेत गरिने सुन्दरहरैंचा खेलकुद विकास समन्वय समिति सचिव खडग श्रेष्ठले जानकारी दिएका छन्।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिता जेठ १६ गतेदेखि २३ गतेसम्म सुन्दरहरैंचा–१२ स्थित शुकरबारे खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा धरान उपमहानगरपालिका, पथरी शनिश्चरे नगरपालिका, केरावारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, इटहरी उपमहानगरपालिका तथा आयोजक सुन्दरहरैंचा नगरपालिकाका टोलीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे धरान उपमहानगरपालिका सुनसरी र पथरी शनिश्चरे नगरपालिका मोरङबीच हुने तालिका सार्वजनिक गरिएको छ। फाइनल खेल जेठ २३ गते शनिबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताको मिडिया पार्टनर गोल नेपाल डटकम रहेको छ।





