कोशीका पहाडी जिल्लामा बाँदर आतङ्क : खेती उजाडिँदै, गाउँ रित्तिँदै
सुनसरी । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै जाँदा किसानको जनजीवन संकटमा परेको छ । मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेती बाँदरले सखाप पार्न थालेपछि धेरै किसान खेती छाड्न बाध्य भएका छन् भने कतिपय गाउँमा बसाइँसराइसमेत बढ्न थालेको छ ।
ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, उदयपुर र पाँचथरलगायत जिल्लाका ग्रामीण बस्तीमा बाँदरका समूह दिनहुँ खेतबारी र घरसम्म पसेर अन्नबाली नष्ट गर्न थालेपछि खाद्य सङ्कटको जोखिम बढेको स्थानीयवासी बताउँछन् ।
किसानका अनुसार एक सिजनभरि दुःख गरेर लगाएको बाली केही घण्टामै बाँदरले नष्ट गर्ने गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–६ का एक किसानले “एक दिनमै मकै सखाप पारिदिन्छ, अब खेती गर्नै मन लाग्न छाड्यो,” भन्दै पीडा सुनाए ।
बाँदर धपाउन किसान बिहानदेखि बेलुकासम्म खेतबारीमै बस्नुपर्ने अवस्था छ । बालबालिकाको पढाइ, दैनिक मजदुरी र घरधन्दा समेत प्रभावित भएको स्थानीयको भनाइ छ । कतिपय ठाउँमा महिलादेखि वृद्धसम्म पालैपालो खेतबारी कुरेर बस्न बाध्य छन् ।
भोजपुर र सङ्खुवासभाका धेरै गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको छ । खेतीबाट आम्दानी घटेपछि युवा रोजगारीका लागि सहर र विदेश पलायन हुने क्रम पनि बढेको स्थानीय बताउँछन् ।
बाँदरले घरभित्र पसेर अन्न, फलफूल र खाद्यान्न लैजाने, झ्यालढोका फोड्ने तथा बालबालिका र वृद्धमाथि झम्टिने घटना बढेपछि ग्रामीण बस्तीमा त्रास फैलिएको छ ।
कृषि तथा वनविज्ञ रामअवतार शाह का अनुसार अव्यवस्थित वन व्यवस्थापन, जङ्गली आहाराको अभाव, जलवायु परिवर्तन र खेतीयोग्य जमिन परित्यागका कारण बाँदरको बासस्थान र व्यवहारमा परिवर्तन आएको हो । उनले समस्या समाधानका लागि राष्ट्रिय स्तरको वन–मानव द्वन्द्व व्यवस्थापन नीति आवश्यक रहेको बताए ।
स्थानीय तहहरूले डोरी टाँग्ने, टिन पिट्ने, साइरन बजाउने, जाली लगाउने तथा बाँदर धपाउने उपकरण वितरण गर्ने जस्ता उपाय अपनाए पनि प्रभावकारी परिणाम आउन सकेको छैन । कतिपय स्थानमा बाँदरको बन्ध्याकरणबारे छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले त बाँदर धपाउने अभियान सञ्चालन गर्न जेठ १ गते सार्वजनिक बिदासमेत दिएको थियो । पाँचथरको कुम्मायक गाउँपालिका–१ ले भने मकैबारी जोगाउन छुट्टै ‘बाँदर हेरालु’ नै नियुक्त गरेको छ ।
ताप्लेजुङमा बाँदरको त्रास बढेपछि किसानले गाउँबस्ती नजिकबाहेकका खेतमा खेती गर्न छोड्दै गएका छन् । सिदिङ्वा गाउँपालिका–४ का किसान खड्गबहादुर लिम्बूका अनुसार बिहानदेखि साँझसम्म खेतबारी रुँघ्दा पनि बाँदरले छक्याएर बाली नष्ट गर्ने गरेका छन् ।
यता, बाँदर नियन्त्रणका लागि पासो वा खोर थाप्दा किसान नै कानुनी कारबाहीमा पर्ने अवस्था रहेको छ । गत मङ्सिरमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा बाँदर मारेको आरोपमा एक किसान कारबाहीमा परेका थिए ।
स्थानीयवासीले तत्काल राहत, बाली बिमा, क्षतिपूर्ति तथा प्रभावकारी नियन्त्रण कार्यक्रम लागू गर्न सरकारसँग माग गरेका छन् । विशेषज्ञहरूले बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन र दीर्घकालीन नीति बिना समस्या झन् जटिल बन्ने चेतावनी दिएका छन् ।
