सहयोगी हात जुटेपछि फेरियो पानालाल–कुश्मीको जीवन, पूरा भयो आफ्नै घरको सपना

एलएन गच्छदार

सुन्दरहरैँचा (मोरङ) : सुन्दरहरैँचा नगरपालिका–६ डिपुटोलका ५७ वर्षीय पानालाल ऋषिदेवको जीवन दैनिक ज्यालादारीको कमाइमा चल्दै आएको थियो। सामान्य आर्थिक अवस्था, जीर्ण घर र वर्षौँदेखिको अभाव उनका जीवनका स्थायी पीडा बनेका थिए। तर, अहिले उनको जीवनमा एउटा ठूलो परिवर्तन आएको छ—वर्षौँदेखि देखेको आफ्नै सुरक्षित घरको सपना पूरा भएको छ।

पानालाल बिहानदेखि साँझसम्म ज्यालादारीमा काम गर्छन्। दिनभर पसिना बगाएर कमाएको पैसाले परिवारको गुजारा चलाउनु नै उनका लागि ठूलो चुनौती थियो। जीर्ण घरमा बस्दै आएका उनलाई वर्षायाम, हावाहुरी र चिसो मौसमले झनै चिन्तित बनाउँथ्यो। आर्थिक अवस्था कमजोर भएकै कारण घर बनाउने चाहना हुँदाहुँदै पनि त्यो सपना पूरा गर्न सकेका थिएनन्।

पानालालकी श्रीमती कुश्मी ऋषिदेवको पीडा पनि कम छैन। घरधन्दाको क्रममा आगोमा परेर हातमा लागेको पुरानो दाग आजसम्म मेटिएको छैन। जीवनका अनेक दुःख र अभावसँग जुध्दै आएकी कुश्मीको आफ्नै कथा छ। सन्तान भए पनि उनीहरूबाट आवश्यक सहारा नपाउँदा दम्पतीले धेरै समय बेसहारा जस्तै जीवन बिताउनुपरेको थियो।

यस्तै कठिन परिस्थितिबीच सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे पानालाल–कुश्मीको जीवनमा सहयोगी हात बनेर पुगे। उनीहरूको जीर्ण घर र दयनीय अवस्था देखेपछि घिमिरेले घर निर्माणको पहल अघि बढाए।

घिमिरेको पहलमा स्थानीय समाजसेवी तथा सहयोगी मन भएका व्यक्तिहरू जोडिँदै गए। राजु जिमी राई, धनबहादुर याम्फु राई लगायत विभिन्न सहयोगी दाताको साथ र स्थानीयवासीको सहयोगमा अन्ततः पानालाल–कुश्मीका लागि नयाँ घर निर्माण सम्पन्न भयो।

नयाँ घर निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने दिन पानालाल र कुश्मीका आँखामा खुसीका आँसु थिए। वर्षौँदेखि अभावमा गुजारेको जीवनमा पहिलोपटक आफ्नै सुरक्षित घरको छानो पाउँदा उनीहरूको खुसीको सीमा थिएन।

“आफ्नो घर हुन्छ भन्ने सपना त थियो, तर यस्तो दिन आउला भनेर सोचेका थिएनौँ,”पानालालले भावुक हुँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे।

कुश्मीका लागि पनि त्यो क्षण विशेष थियो। आगोमा परेर हातमा बसेको दाग, अभावमा बितेका वर्ष र जीर्ण घरमा गुजारेका दिन सम्झिँदा उनी भावुक बनिन्। नयाँ घरको आँगनमा उभिँदा उनका लागि त्यो केवल घर थिएन, जीवनमा आएको नयाँ आशा थियो।

घर हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता, समाजसेवी, ज्येष्ठ नागरिक तथा स्थानीयवासीको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु नै वास्तविक सामाजिक सेवाको उदाहरण भएको बताए।

घर निर्माण अभियानका अगुवा कृष्णकुमार घिमिरेले यो काम आफ्नो एक्लो प्रयास नभई सबैको सामूहिक सहयोगबाट सम्भव भएको बताए।

“यो घर इँटा, ढुंगा र सिमेन्टले मात्र बनेको होइन, धेरै सहयोगी मनको माया र मानवताले बनेको हो,” घिमिरेले भने, “पानालाल र कुश्मीको अनुहारमा देखिएको खुसी नै हाम्रो अभियानको सबैभन्दा ठूलो उपलब्धि हो।”

पानालाल–कुश्मीको जीवनमा आएको यो परिवर्तनले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ—सहयोग सानो वा ठूलो हुँदैन, सही ठाउँमा गरिएको सहयोगले कसैको पूरै जीवन बदल्न सक्छ।

कसैका लागि एउटा सामान्य घर हुन सक्छ। तर पानालाल र कुश्मीका लागि यो घर वर्षौँदेखिको पीडापछि पाएको सुरक्षित आश्रय हो। दैनिक ज्यालादारी गरेर जीवन गुजार्दै आएका पानालालका लागि अब आफ्नो घरको आँगनमा उभिएर भविष्यको सपना देख्ने ठाउँ बनेको छ।

वर्षौँसम्म जीर्ण छानोमुनि दुःख र अभाव बोकेर बसेका पानालाल–कुश्मीका लागि अब जीवनको नयाँ अध्याय सुरु भएको छ। सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेको पहलमा जुटेका सहयोगी हातहरूले एउटा घर मात्र निर्माण गरेनन्, एउटा परिवारको हराउँदै गएको आशालाई फेरि जीवन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *