९४औँ तामाङ पहिचान दिवसमा सुन्दरहरैँचामा शुभकामना आदान–प्रदान

एलएन गच्छदार

सुन्दरहरैँचा (मोरङ) : तामाङ समुदायको भाषा, संस्कृति, लिपि, भेषभूषा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने सन्देशसहित मोरङको सुन्दरहरैँचामा ९४औँ तामाङ पहिचान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।

नेपाल तामाङ घेदुङ नगर कार्यसमिति सुन्दरहरैँचाको आयोजनामा सुन्दरहरैँचा–९ मा आयोजित कार्यक्रममा तामाङ पहिचानका अगुवा स्वर्गीय जंगवीर तामाङको तस्वीरमा खादा अर्पण तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रममा तामाङ समुदायको पहिचान, अधिकार र सांस्कृतिक अस्तित्व संरक्षणका विषयमा वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ सुन्दरहरैँचा नगर कार्यसमितिका अध्यक्ष तुलाराम स्याङ्बोले गर्नुभएको थियो। अध्यक्ष स्याङ्बोले तामाङ समुदायले आफ्नो भाषा, संस्कृति, लिपि र भेषभूषालाई बिर्सन नहुने बताउँदै मौलिक पहिचान जोगाउने जिम्मेवारी अहिलेको युवा पुस्ताको काँधमा आएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रो भाषा, संस्कृति र पहिचान नै हाम्रो अस्तित्व हो। यसलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ। तामाङ समुदायको अधिकार र पहिचानका लागि एकताको आवाजसहित सबै एकजुट भएर अघि बढ्न आवश्यक छ।”

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य इन्द्र योजन तामाङले तामाङ समुदायको पहिचान संरक्षणका लागि संस्थागत एकता र सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले तामाङ समुदायले आफ्नो मौलिक भाषा, संस्कार र संस्कृति संरक्षणसँगै अधिकार प्राप्तिको अभियानलाई पनि निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, नेपाल तामाङ घेदुङ मोरङ जिल्ला उपाध्यक्ष मन्नु तामाङले तामाङ पहिचानका अगुवा स्वर्गीय जंगवीर तामाङले समुदायको पहिचान र अधिकारका लागि पुर्‍याएको योगदानको स्मरण गर्नुभयो। उहाँले अग्रजहरूले सुरु गरेको पहिचान र अधिकारको अभियानलाई नयाँ पुस्ताले अझ सशक्त रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा ओ साङ्गे रेसुम गुम्बाका सल्लाहकार भगवान मोक्तानले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षणमा गुम्बा र समुदायको भूमिकामाथि चर्चा गर्नुभयो। नेपाल तामाङ घेदुङ सुन्दरहरैँचाका सल्लाहकार देवराज तामाङले समुदायको एकता, सहकार्य र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

सो अवसरमा नेपाल तामाङ घेदुङ सुन्दरहरैँचा नगर कार्यसमितिको पुरानो कार्यसमितिका १४ जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो। संस्थाको गतिविधिमा पुर्‍याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले तामाङ समुदायको मौलिक पहिचान केवल इतिहासमा सीमित नभई भावी पुस्ताको जीवनशैलीसँग जोडिनुपर्नेमा जोड दिए। उनीहरूले भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि समुदायभित्रैबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

तामाङ पहिचान दिवसले आफ्नै भाषा, संस्कृति र मौलिकताको संरक्षण गर्दै अधिकार र एकताका लागि अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *