इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
इनरुवा, सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीनसिटी परिसरमा करिब १२ हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान सुरु भएको छ।
रोटरी क्लब अफ पाटन वेस्टको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियानअन्तर्गत वृक्षरोपण तथा वृक्ष संरक्षण कार्यक्रम सुरु गरिएको हो। अभियानमा इनर ह्वील क्लब अफ पाटन सह–आयोजक तथा डीएन ग्रुप अफ कम्पनीज प्रायोजकका रूपमा सहभागी छन्।
ग्रीनसिटी परिसरलाई हरियाली, स्वच्छ तथा वातावरणमैत्री क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले गरेका थिए। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रो. विष्णुबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष रो. रमेश अधिकारी तथा इनर ह्वील क्लब अफ पाटनकी अध्यक्ष माया नगरकोटी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रो. विष्णुबहादुर कार्कीले वातावरण संरक्षण वर्तमान पुस्ताको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताए। उनले वृक्षरोपण गरेर मात्र अभियान सफल नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष रो. रमेश अधिकारीले क्लबको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियानअन्तर्गत करिब १२ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिए। वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा सीमित नगरी बिरुवाको संरक्षण तथा वातावरणीय सचेतना विस्तारमा समेत निरन्तर काम गरिने उनले बताए।
इनर ह्वील क्लब अफ पाटनकी अध्यक्ष माया नगरकोटीले वातावरण संरक्षणमा महिला तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। वृक्षरोपणसँगै बिरुवाको नियमित संरक्षण र हेरचाहमा सबै पक्षको सहकार्य हुनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले ग्रीनसिटी परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए। वृक्षरोपणसँगै बिरुवाको संरक्षणमा पनि निरन्तर काम गरिने उनले जानकारी दिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणको प्रतिबद्धता जनाएका थिए।
रोटरी क्लब अफ पाटन वेस्टको पहलमा सुरु भएको अभियानअन्तर्गत ग्रीनसिटी परिसरमा करिब १२ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ। आयोजकका अनुसार वृक्षरोपणसँगै बिरुवाको संरक्षण, वातावरणीय सचेतना र हरियाली प्रवर्द्धनलाई समेत निरन्तरता दिइनेछ।
