समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास नारासहित आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौँ / वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो।दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ। मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको विभागले जनाएको छ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका विषयमा जनस्तरमा सचेतना फैलाउने उद्देश्यले दिवसलाई विशेष रूपमा मनाउन लागिएको जानकारी दिए।

विभागका अनुसार विश्व वातावरण दिवसको अवसरमा देशभर वृक्षारोपण, सरसफाइ, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्। विश्वव्यापी रूपमा प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरणीय चुनौतीबारे सचेतना जगाउने र दिगो विकासका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *