दिल्लीमा रवि लामिछानेको कूटनीतिक दौडधुप, आज मोदीसँग भेट; सीमा विवादमा भारतको स्पष्ट सन्देश
पाँचदिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका लामिछानेको भ्रमणकै बीच नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा भारतले प्रतिक्रिया दिँदै द्विपक्षीय विषयमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ।
सोमबार नयाँ दिल्ली पुगेका रास्वपा सभापति रवि लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिएका छन्। बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। मोदीसँगको भेटपछि उनी अयोध्या पुगेर राममन्दिर दर्शन गर्ने कार्यक्रम छ।
लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख एवं सांसद दीपक बोहोरा तथा स्वकीय सचिव अविनाश आचार्य रहेका छन्। भ्रमण सम्पन्न गरी टोली २२ जेठमा नेपाल फर्किनेछ।
यसअघि मंगलबार लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। भेटपछि जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाल–भारत विकास साझेदारी, जनस्तरको सम्बन्ध तथा साझा समृद्धिका विषयमा सकारात्मक छलफल भएको जानकारी दिएका थिए।
भाजपा मुख्यालयमा भएको छुट्टै भेटवार्तामा लामिछानेले भाजपा अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेतासँग राजनीतिक अनुभव आदान–प्रदान गरेका थिए। छलफलमा युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागिता, लोकतान्त्रिक नेतृत्व निर्माण, संगठन विस्तार र सदस्यता व्यवस्थापनका विषय प्रमुख रूपमा उठेका थिए।
भेटका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्तासँगको सम्बन्ध विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको बताइएको छ। भाजपा नेतृत्वले प्रधानमन्त्री मोदीको विकास र सुशासन केन्द्रित शासन मोडलबारे पनि जानकारी गराएको थियो।
यता, नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि भारतले औपचारिक प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल–भारत सीमाको अधिकांश भाग निर्धारण भइसकेको र बाँकी विषयहरू दुवै देशबीच स्थापित संयन्त्रमार्फत समाधान भइरहेको बताए।
उनले सीमासम्बन्धी सबै मुद्दा द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने उल्लेख गर्दै नेपाल–भारतबीचका कुनै पनि विषयमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारे। भारतको यो अभिव्यक्ति सीमा विवाद र कूटनीतिक संवादलाई लिएर दुवै देशबीच चलिरहेको बहसका बीच आएको हो।
रवि लामिछानेको भारत भ्रमण र सीमा विवादबारे भारतको प्रतिक्रिया एकै समयमा सार्वजनिक हुँदा नेपाल–भारत सम्बन्ध र राजनीतिक कूटनीतिले नयाँ चर्चा पाएको छ।
