प्रि–स्कुल ग्राजुएसन समारोह: बाल सदन एकेडेमीमा बालबालिकाको उज्ज्वल यात्राको सुरुवात

एलएन गच्छदार 

सुन्दरहरैंचा नगरपालिका–९, बुधबारेमा अवस्थित बाल सदन एकेडेमीले प्रि–प्राइमरी तहका विद्यार्थीहरूका लागि मंगलबार भव्य प्रि–स्कुल ग्राजुएसन समारोह आयोजना गर्दै ३८ जना बालबालिकालाई औपचारिक रूपमा दीक्षित गरेको छ। नर्सरीदेखि यूकेजीसम्मको बालविकास शिक्षालाई सफलतापूर्वक पूरा गरी कक्षा १ मा प्रवेश गर्ने तयारीमा रहेका यी नन्हा विद्यार्थीहरूका लागि कार्यक्रम उत्साह, प्रेरणा र भावनाले भरिएको रह्यो।

विद्यालयले नर्सरीदेखि यूकेजी तहलाई बालविकास शिक्षाको आधार मानेको छ भने कक्षा १ लाई औपचारिक शिक्षाको पहिलो खुड्किलोको रूपमा लिने गरेको छ। यही सन्दर्भमा बालबालिकामा शिक्षाप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले ग्राजुएसन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा प्रि–स्कुलका बालबालिकाहरूले देशभक्ति भाव बोकेका सांगीतिक प्रस्तुति, नृत्य तथा गायन प्रस्तुत गर्दै दर्शकको मन जिते। “लेखौं भविष्य” बोलको प्रस्तुति विशेष रूपमा भावुक बनाउने खालको रह्यो। अभिभावक तथा विद्यार्थीहरूले संयुक्त रूपमा प्रस्तुत गरेका देशप्रेम झल्काउने कार्यक्रमहरूले समारोहलाई अझ अर्थपूर्ण बनाएको थियो।

समारोहका प्रमुख अतिथि, सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशव अधिकारीले शिक्षा केवल विद्यालयको जिम्मेवारी नभई परिवार र समाजको साझा दायित्व भएको उल्लेख गरे। उनले व्यवहारिक शिक्षा र अभिभावकको सक्रिय भूमिकाबिना गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा राख्दै बालबालिकाको पहिलो शिक्षा परिवारबाट सुरु हुने र विद्यालय त्यसको विस्तार हुने बताए। अभिभावकले घरमा पनि नियमित रूपमा बालबालिकाको पढाइप्रति चासो दिनुपर्ने उनको सुझाव थियो।

त्यस्तै, सुन्दरहरैंचा नगर प्याब्सन अध्यक्ष तथा क्वेष्ट सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल दीपक क्षेत्रीले बदलिँदो समयसँगै अभिभावकले पनि नयाँ ज्ञान र प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै जानुपर्ने आवश्यकता औंल्याए।

विद्यालयका प्रिन्सिपल निरज ढकालले  गत वर्षदेखि प्रि–स्कुल ग्राजुएसन कार्यक्रम सुरु गरिएको जानकारी दिँदै बालबालिकालाई अक्षर चिनाउने मात्र नभई सामाजिक व्यवहार र जीवनोपयोगी सीप सिकाउने उद्देश्यले फरक ढङ्गले शिक्षण पद्धति अपनाइएको बताए।

एकेडेमीका प्रबन्ध निर्देशक सुर्य दंगालले मन्टेसरी विधिमा आधारित प्रि–स्कुल सञ्चालन गर्दै बालबालिकाको आनीबानी, व्यवहारिक सीप, आचरण र समग्र विकासमा जोड दिँदै आएको उल्लेख गरे। उनले विद्यालयले नवीन प्रविधिको प्रयोग र नवप्रवर्तनमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको पनि बताए।

कार्यक्रममा वक्ताहरूले ज्ञानसँगै अनुशासन, संस्कार र चरित्र निर्माणको महत्वलाई जोड दिएका थिए। असल आचरण भएका विद्यार्थीहरू नै भविष्यमा सफल हुने धारणा राख्दै विद्यालयले विद्यार्थीको व्यवहार, अनुशासन र मूल्य–मान्यताको विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पारियो।

बाल सदन एकेडेमीमा हाल कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको छ। प्रविधिमैत्री र संस्कारयुक्त शिक्षालाई आत्मसात गर्दै विद्यालयले गुणस्तरीय शिक्षामार्फत सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा निरन्तर अग्रसर रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *