सुबिजिमुर मेमोरियललाई दोस्रो बनाउँदै लभ्ली एन्जल्सले जित्यो क्विजको उपाधि
सुन्दरहरैँचा (मोरङ) । २६ विद्यालयबीच भएको बौद्धिक प्रतिस्पर्धामा सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालयलाई दोस्रो स्थानमा रोक्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’को उपाधि जितेको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी थिए। विभिन्न चरणमा सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरूले सामान्य ज्ञान, विज्ञान, सामाजिक विषय, तर्क तथा समसामयिक विषयका प्रश्नमा आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
प्रतियोगितामा १२० अङ्कसहित लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको हो। १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो, ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएको आयोजकले जनाएको छ।
विजेता लभ्ली एन्जल्सले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने सुबिजिमुर मेमोरियलले ६ हजार रुपैयाँ तथा तेस्रो हुने सगरमाथा हिमाल दर्शनले ४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। सान्त्वना स्थान प्राप्त गर्ने शिशिर एकेडेमीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि विद्यालयस्तरीय क्विज प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
विशिष्ट अतिथि प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नरहने बताए। अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नुपर्नेमा उनले जोड दिए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमतालाई उजागर गर्ने यस्ता कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान तथा प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको बताए। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने उनले बताए।
२६ विद्यालयका विद्यार्थीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोचक बनाएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।
