सुन्दरहरैंचामा ‘NCC Quiz Mania–२’ को उपाधि सगरमाथा हिमाल दर्शनलाई

एलएन गच्छदार
सुन्दरहरैंचा, । मोरङको सुन्दरहरैंचामा आयोजित ‘NCC Quiz Mania–२’ को उपाधि सुन्दरहरैंचा–३ स्थित सगरमाथा हिमाल दर्शन सेकेण्डरी स्कुलले जितेको छ। ज्ञान, तर्क र आत्मविश्वासको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै हिमाल दर्शनले दोस्रो संस्करणको उपाधि आफ्नो नाममा पारेको हो।

प्रतियोगितामा सुन्दरहरैंचा–७ स्थित ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, इटहरीको पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो तथा सुन्दरहरैंचा–२ स्थित लभ्ली एन्जल्स इङ्लिस स्कुल सान्त्वना भएको छ।

नेपाल कम्प्युटर सेन्टर (NCC) को आयोजनामा सम्पन्न प्रतियोगितामा सुन्दरहरैंचा र इटहरीका २० भन्दा बढी विद्यालय सहभागी थिए। विद्यार्थीमा सामान्य ज्ञान, सूचना प्रविधिसम्बन्धी ज्ञान, तार्किक क्षमता, तत्काल निर्णय गर्ने क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरी गोल्डेन लाइटिङ र आदिवासी जनजाति भवनमा प्रारम्भिक चरण सञ्चालन गरिएको थियो। प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेका विद्यालयहरू फाइनलका लागि छनोट भएका थिए।

सुन्दरहरैंचा–६ स्थित आदिवासी जनजाति भवनमा सम्पन्न फाइनल राउण्डमा छनोट भएका विद्यालयका विद्यार्थीबीच विभिन्न प्रश्नोत्तर तथा बौद्धिक चरणमा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा हिमाल दर्शनले उपाधि हात पारेको हो।

उपाधिसँगै हिमाल दर्शनले नगद ११ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। दोस्रो हुने ज्ञानज्योतिले ७ हजार ५ सय, तेस्रो हुने पूर्वाञ्चलले ५ हजार ५ सय तथा सान्त्वना हुने लभ्ली एन्जल्सले ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

NCC का प्रबन्ध निर्देशक शम्भु राईले विद्यार्थीभित्र रहेको ज्ञान, प्रतिभा र तार्किक क्षमतालाई प्रतिस्पर्धामार्फत उजागर गर्ने उद्देश्यले Quiz Mania लाई निरन्तरता दिइएको बताए। उनले विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकबीच ज्ञानमूलक र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका सचिव देवी सिटौलाले विद्यालयस्तरीय क्विज प्रतियोगिता विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिको प्रभावकारी माध्यम भएको बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

कार्यक्रममा ज्ञानज्योति सेकेण्डरी स्कुलकी विद्यार्थी केबिना राईलाई विशेष सम्मान गरिएको थियो। ‘द भ्वाइस अफ किड्स’की फाइनलिस्ट राईले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएकी थिइन्।

विद्यार्थीको क्षमता केवल परीक्षामा प्राप्त अंकबाट मात्र मापन नहुने उल्लेख गर्दै कार्यक्रममा अतिरिक्त क्रियाकलापमार्फत व्यावहारिक ज्ञान, नेतृत्व क्षमता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिइएको थियो।

पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञानसँगै सूचना प्रविधिको बुझाइ, तर्क गर्ने क्षमता, तत्काल निर्णय र सार्वजनिक रूपमा प्रस्तुत हुने आत्मविश्वास विकास गर्न विद्यालयस्तरीय क्विज प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *