सुन्दरहरैंचा–९ मा नौमती बाजा बजाउने तालिम सम्पन्न, महिलाको सीप विकाससँगै परम्परागत संस्कृति संरक्षणमा जोड
एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ), असार १४ — सुन्दरहरैंचा नगरपालिका–९ को आर्थिक सहयोग तथा सिद्धार्थ स्किल डेभलोपमेन्ट प्रा.लि. को आयोजनामा सञ्चालन गरिएको नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ। स्थानीय महिलालाई सीपयुक्त, आत्मनिर्भर तथा परम्परागत नेपाली संस्कृति संरक्षणतर्फ अभिप्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठले नौमती बाजा नेपाली मौलिक पहिचान र संस्कृतिको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता भएको बताए। उनले महिलाहरूले तालिममार्फत सीप हासिल गरी सांस्कृतिक कार्यक्रम तथा व्यावसायिक क्षेत्रमा समेत अवसर सिर्जना गर्न सक्ने उल्लेख गर्दै वडा कार्यालयले यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा वडा सदस्य रुकमणि घिमिरेले महिलाको आर्थिक सशक्तीकरणसँगै सामाजिक सहभागिता बढाउन यस्ता तालिम प्रभावकारी हुने बताइन्। सीपले आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको आधार तयार गर्ने भएकाले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।
वडा सदस्य राजनारायण खवासले स्थानीय कला र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
वडा सदस्य शारदा विकले महिलाको क्षमता विकास र आयआर्जनमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सिकेको ज्ञानलाई समुदायमा समेत विस्तार गर्नुपर्ने धारणा राखिन्।
आयोजक संस्था सिद्धार्थ स्किल डेभलोपमेन्ट प्रा.लि. की प्रबन्ध निर्देशक पार्वती गच्छदारले स्थानीय सरकारसँगको सहकार्यमा समुदायको आवश्यकता अनुसार सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन्। उनले तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मक योगदान पुगेको उल्लेख गरिन्।
तालिममा सहभागी महिलाहरूले नौमती बाजा बजाउने व्यावहारिक ज्ञान र सीप हासिल गरेको जनाउँदै आगामी दिनमा सांस्कृतिक कार्यक्रम तथा व्यावसायिक रूपमा समेत यसको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकका अनुसार स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुने यस्ता सीपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धि, स्वरोजगार प्रवर्द्धन तथा मौलिक नेपाली कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
समापन समारोहको अवसरमा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई आयोजकले प्रमाणपत्रका साथै सम्मानस्वरूप सारी वितरण गरेको थियो। आयोजकका अनुसार सहभागी महिलाहरूको हौसला अभिवृद्धि गर्दै तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा उतार्न प्रेरित गर्ने उद्देश्यले प्रमाणपत्रसँगै सारी प्रदान गरिएको हो।





