धान उत्पादन बढाएर आत्मनिर्भर बन्न मुख्यमन्त्री कार्कीको आह्वान
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भरतातर्फ अघि बढ्न सबैलाई आह्वान गरेका छन्। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको बताए। युवाको वैदेशिक रोजगारी र बसाइँसराइका कारण खेतीयोग्य जमिन उपयोगविहीन बन्दै गएको उल्लेख गर्दै उनले यसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पुर्याएको धारणा राखे।
मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति, पहिचान र सामाजिक एकतालाई थप मजबुत बनाएको उल्लेख गरे। उनले आधुनिक प्रविधि, यान्त्रिकीकरण तथा वैज्ञानिक खेतीको प्रयोगमार्फत कृषि उत्पादन बढाउन आवश्यक रहेको बताए।
उनले कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, बजारीकरण, नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकको श्रम, समर्पण र योगदानप्रति सम्मान व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणका लागि सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताएका छन्।
