वाम दलहरू सहकार्यको तयारीमा, चुनावी तालमेलमा जोड

काठमाडौं । गत निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेपछि प्रमुख वामपन्थी दलहरू पुनः सहकार्य र चुनावी तालमेलको तयारीमा जुटेका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वाम नेताहरूले संसद्, सडक र आगामी निर्वाचनमा सहकार्य गर्दै वाम एकताको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए। उनीहरूले तत्काल पार्टी एकताभन्दा पनि कार्यगत सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि वाम तथा देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले पार्टी एकतामा हतार नगरी संसद्, सडक र निर्वाचनमा सहकार्यबाट विश्वासको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे।

एमाले अध्यक्ष ओलीले पनि लोकतान्त्रिक र वाम शक्तिहरूबीच कार्यगत एकताको आवश्यकता औँल्याउँदै प्रतिगमनविरुद्ध साझा अभियान आवश्यक रहेको बताए। उनले एमाले कठिन परिस्थितिमा भए पनि कमजोर नभएको उल्लेख गर्दै पार्टी पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनालले विगतका कमजोरीबाट पाठ सिक्दै साझा एजेन्डामा सहकार्य गर्नुपर्ने धारणा राखे। उनीहरूले आत्मसमीक्षा, आपसी विश्वास र वैचारिक संवादमार्फत वाम आन्दोलनलाई पुनः सशक्त बनाउनुपर्ने बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक निर्वाचनको परिणामका आधारमा वाम आन्दोलनको भविष्यको मूल्याङ्कन गर्न नहुने बताउँदै जनताले दिएको सन्देशलाई आत्मसात् गर्दै नेतृत्व र नीतिमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरिन्।

यद्यपि सहकार्यमा सहमत देखिएका नेताहरू वैचारिक मुद्दामा भने आ–आफ्नै अडानमा कायम रहे। एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउने अडान दोहोर्याउँदा प्रचण्ड र खनालले बदलिएको राजनीतिक परिवेशअनुसार नयाँ सोच आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *