देशभर राष्ट्रिय धान दिवस मनाइँदै, दही–चिउरा खाने परम्पराले थप्यो रौनक
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ, असारे भाका र दही–चिउरा खाएर उल्लासका साथ मनाइँदै छ। कृषकहरू खेतमा व्यस्त रहँदा अन्य पेसा–व्यवसायमा संलग्न नेपालीले पनि दही–चिउरा खाएर यस पर्वको सांस्कृतिक महत्त्वलाई निरन्तरता दिएका छन्।
नेपाली परम्परामा दहीलाई शुभकार्यको प्रतीक मानिन्छ। यात्रा, नयाँ कामको सुरुआत तथा विशेष अवसरमा दही–अक्षता लगाउने र सगुनका रूपमा दही खुवाउने चलन आज पनि जीवित छ। वैज्ञानिक रूपमा पनि दही पाचन प्रणालीका लागि लाभदायक मानिन्छ भने आयुर्वेदले भोजनपछि मोही सेवन स्वास्थ्यका लागि उपयोगी हुने उल्लेख गरेको छ।
सरकारले विसं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। कृषिप्रधान देश नेपालमा धान रोपाइँलाई कृषि उत्पादनसँगै सांस्कृतिक उत्सवका रूपमा पनि लिने गरिन्छ। हिलोमा रोपाइँ गर्दै असारे गीत गाउने र रमाइलो गर्ने परम्परा अझै कायम छ।
यद्यपि, यस वर्ष पर्याप्त वर्षा नहुँदा देशका धेरै क्षेत्रमा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। कतिपय किसानले रासायनिक मलको अभावको गुनासो गरे पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक मल पर्याप्त मौज्दातमा रहेको जनाएको छ।
