वैजनाथ टोलवासीको माग स् कसमस सिमेन्टको ढुवानीबाट सडक र कृषि क्षेत्रमा असर, स्थायी समाधानको आग्रह
उदयपुर। उदयपुरगढी गाउँपालिका–८ स्थित वैजनाथ टोलका स्थानीयवासीले कसमस सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानीका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर असर परेको भन्दै स्थायी समाधानको माग गरेका छन्।
बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै उद्योगका टिपर तथा ट्रकको अत्यधिक आवागमनले स्थानीय सडक जीर्ण र जोखिमपूर्ण बनेको जनाएको हो। स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे र खाल्डाखुल्डी हुने तथा सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले जनजीवन प्रभावित भएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक र बिरामीलाई आवतजावतमा समेत कठिनाइ भएको उनीहरूको भनाइ छ।
ढुवानीका क्रममा सडकमा खस्ने चुनढुङ्गा तथा वर्षासँगै खेतबारीमा थुप्रिने खानीजन्य पदार्थका कारण कृषि उत्पादनमा समेत असर परेको स्थानीयले बताएका छन्। बस्तीको बीचबाट सञ्चालन भइरहेको ढुवानीले ध्वनि तथा कम्पन प्रदूषण बढाएर घरहरूमा जोखिम सिर्जना गरेको गुनासोसमेत गरिएको छ।
टोल विकास संस्थाकी अध्यक्ष शर्मिला तामाङ र सामाजिक अभियन्ता रमा मगर ले उद्योग पक्ष पटक–पटक छलफलमा सहभागी नभएको आरोप लगाउँदै सरोकारवाला निकायको संयुक्त बैठकमार्फत समस्या समाधान गर्न माग गरेका छन्।
स्थानीयले समयमै समस्या समाधान नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। कसमस सिमेन्ट उद्योगले उदयपुरगढी–४ को खानी क्षेत्रबाट चुनढुङ्गा उत्खनन गरी वैजनाथ खोला हुँदै मदन भण्डारी लोकमार्गसम्म ढुवानी गर्दै आएको छ। स्थानीयले यसले सडक दुर्घटनाको जोखिमसमेत बढाएको बताएका छन्।
